विराटनगर । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ स्थित जिल्ला कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै चरम यातना दिएपछि मृत्यु भएको अनुगमन टोलीले दाबीसहितको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
साउन २४ गते बिहान १ः३० बजे कैदी सङ्खुवासभाकै मादी नगरपालिका–१९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ घर भई सङ्खुवासभाको मादी–५ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो । कारागारबाट भाग्न खोजेका उनीहरूको कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भनिएको थियो । उक्त घटनाबारे विभिन्न सरकारी टोलीले छानबिन गरिरहेका छन् ।
दुई कैदीको मृत्यु भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले साउन २६ गतेदेखि स्थलगत अनुगमन गरेको थियो । दुई दिन लगाएर गरेको अनुगमनको क्रममा राज्यका निकायले जिम्मेवारी बहन नगर्दा कैदीको हत्या भएको निष्कर्ष निकालेको छ । इन्सेकले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी यस्तो निष्कर्ष सुनाएको हो । इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापाको नेतृत्वमा ४ सदस्यीय स्थलगत अध्ययन टोली बनेको थियो ।
‘कैदी आकाश र विनोदको साउन २४ गते जिल्ला कारागारका सुरक्षाकर्मीको निर्मम यातनाका कारण मृत्यु भएको प्रशस्त आधार इन्सेकको स्थलगत अनुगमनका क्रममा देखिएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘साउन २६ गतेदेखि साउन २८ गतेसम्म इन्सेकले जिल्लामा घटनासँग जोडिएका सबै पक्षसँग भेटघाट गरी लिएको जानकारी तथा विवरणले पहिलो चरणमा कारागारभित्रका सुरक्षाकर्मी र दोस्रो चरणमा कैदीबन्दीको प्रशासनभित्रका नाइके, भाइ नाइकेले दुवै जना कैदीलाई चरम यातना दिएका कारण मृत्यु भएको प्रशस्त आधारहरू इन्सेकले अनुगमनका क्रममा पाएको छ ।’
राज्यको नियन्त्रणमा रहेका र राज्यको सुरक्षा गृहभित्र कैदीको कुटपिट गरी हत्या गरिनु गम्भीर मानवअधिकार उल्लङ्घन भएको इन्सेकको निष्कर्ष छ । कैदी भाग्न खोजेको आरोपमा चरम यातना दिनु, कैदीबन्दी प्रशासनलाई बुझाउनु, तत्काल उपचारका लागि अस्पताल नलैजानु, अन्तिम अवस्थामा अस्पताल लैजानु, पीडित परिवारलाई समयमा जानकारी नगराउनु जस्ता कार्यले राज्यका निकायले उपयुक्त जिम्मेवारी बहन नगरेको इन्सेकको निष्कर्ष रहेको थापाले जानकारी दिए । इन्सेकले घटनामा संलग्न रहेका सुरक्षाकर्मीलाई तत्कालै अनुसन्धानको प्रक्रियामा ल्याउनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नुपर्नेलगायतका ८ वटा सुझाव दिएको छ ।
जसमा घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्नुपर्ने, कारागारको आन्तरिक प्रशासनका नियम, कानून मानवअधिकारमैत्री बनाउनुपर्नेलगायतका सुझाव दिइएको छ । देशभरका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएका र उनीहरूको मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोले यस विषयमा ध्यान पु¥याउनुपर्ने, कारागारमा स्रोत साधनको उचित व्यवस्था गर्नुपर्ने र कागजमा सीमित खुला कारागारको अवधारणा कार्यान्वयन गर्नुपर्ने सुझावमा उल्लेख छ । कैदीको मृत्यु प्रकरणमा कारागार प्रशासन तथा प्रहरीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । सरकारी पक्षबाट गठित समितिहरूले छानबिन प्रतिवेदन प्रकाशन गर्नुअगावै अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययनपछि आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन् । इन्सेक कोशी प्रदेशका संयोजक थापाले पत्रकार सम्मेलनमा दुई कैदीलाई पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको बताए ।
‘पहिले कारागारभित्रै ज्यादै पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको र उनीहरूको मृत्यु भइसकेपछि बिहान बल्ल अस्पताल लगेको देखिएको छ’ उनले भने, ‘भाग्न खोजेका बेला उनीहरूलाई कारागार सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए । त्यसपछि प्रहरी र कैदीहरू मिलेर ज्यानै जाने गरी कुटपिट गरेको देखिन्छ । जब उनीहरूको मृत्यु भयो, बल्ल अस्पतालतिर लगेको देखियो ।’
थापाका अनुसार भाग्न खोज्ने कैदीहरूलाई पहिले प्रहरीले कुटपिट गरेपछि कारागारभित्र लगिएको र भित्र पनि कैदीहरूले कुटेको देखिन्छ । उनीहरूमाथि रड, लाठी प्रहार भएको अधिकारकर्मीहरूको भनाइ छ । स्थलगत अनुगमनको क्रममा इन्सेकले तीन दर्जन बढीसँग प्रत्यक्ष देख्ने र मृतकका आफन्तसँग पनि प्रत्यक्षरूपमा कुराकानी गरेको थियो । घटनामा संलग्न रहेको भन्दै पीडितका परिवारले किटानी जाहेरी दिएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी प्रहरी नियन्त्रणमा छन् । निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन् । उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मात्रै परिवारले घटनाको ६ दिनपछि शव बुझेका थिए ।