धरानको घण्टाघरमा १७ वर्षदेखि काम गर्दै आएका ज्यालादारी श्रमिक कर्मचारीलाई बिना कारण जागिरबाट हटाएको भन्दै धरानका तीन ट्रेड युनियनले पुनर्बहाली गर्न माग गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ, ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले आज धरान उपमहानगर प्रमुख हर्कराज राईलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै १ हप्ताभित्र पुनर्बहाली गर्न माग गरेको हो ।

ट्रेड युनियनले धरान २ बस्ने नरबहादुर लिम्बू र धरान १४ बस्ने प्रकाश राई घण्टाघर निर्माण कार्यको प्रारम्भदेखि नै उक्त क्षेत्रको सौन्दर्यीकरण गर्ने र फूल बिरुवा हेरचाह गर्ने मालिको रुपमा १७ वर्ष देखि निरन्तर सेवा गरी आएको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

Tred union dharan altimatum

'लामो समयदेखि श्रम गर्दै आएका एउटा ज्यालादारी श्रमिकलाई बिना कारण जागिरबाट हटाउनु निश्चय नै श्रम प्रतिको घोर अपमान हो। नगर पिताको हैसियतमा रहनु भएको नगर प्रमुखले न्युनतम ज्याला लिएर काम गरिरहेका श्रमिकलाई रोजगारीबाट विमुख गर्ने घटनाप्रति हामी तमाम मजदुरहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।' ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ट्रेड युनियनले निज मजदुरहरुलाई १ हप्ता भित्रमा नियुक्ति गरी श्रमिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चत गर्न जोडदार माग गरेको छ । श्रमिकलाई नियुक्त नगरे सशक्त आन्दोलनमा जान बाध्य हुने र यसबाट उत्पन्न हुने जस्तो सुकै परिणामको जिम्मेवार स्वयम नगर प्रमुख नै हुने चेतावनी दिएको मजदुर नेता सम्सेर बर्देवाले बताए ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख हर्कराज राईले उमेर हदका कारण श्रमिकलाई बिदा दिएको बताए । उनले बालबालिका र ज्येष्ठ नागरिकलाई श्रममा राख्न नमिल्ने बताए । प्रमुख राईले आफन्त नियुक्त गरेको विषयमा नगरबासी सबै आफ्ना आफन्त रहेको प्रतिक्रिया दिए ।