नेपाली राजनीतिमा देखिएको विकृति नगरप्रमुख राईमा पनि देखियो । अनैतिक र गुण्डागर्दीलाई संरक्षण गरे भने उनको पनि लोकप्रियता घट्छ ।
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले कानून उल्लङ्घन गर्नेहरूलाई नै हाकाहाकी रूपमा संरक्षण गर्ने खालको अभिव्यक्ति चिन्ताको विषय बन्दै गएको छ ।
दलबाट असन्तुष्ट बनेका धरानवासीले २०७९ साल वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार बनेका हर्कराज राई (हर्क साम्पाङ) लाई निर्वाचित भए । स्वतन्त्रबाट जितेकाले धरानवासीले सोचेभन्दा बढी अपेक्षा गरेका थिए तर, राजनीतिक दलका नेतामा देखिएको प्रवृत्ति उनमा पनि हाबी भएको छ । केही दिनअघि साइबर अपराध मुद्दामा धरान–५ देउरालीबासी रमेश बान्तवा राई पक्राउ परेलगत्तै नगरप्रमुख राईले प्रहरीलाई लक्षित गर्दै आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलोसन’ मा ‘नागरिकलाई अनावश्यक दुःख नदिन प्रहरी प्रशासनलाई सुझाव छ ।
अभिव्यक्ति स्वतन्त्रताको हेक्का रहोस्’ भन्दै लेखे । उनी त्यतिमै रोकिएनन् थप लेखे, ‘रमेश राईलाई तत्काल रिहा गरी जनताको पक्षमा उभिन प्रहरी प्रशासनलाई मेरो सुझाव । माफियाहरूको झाँसामा प्रहरी आउनु हुन्न । अनाहकमा नागरिकलाई राज्यले दुःख दिनुहुन्न ।’ उनका समर्थक मानिएका रमेशलाई धरानका नेपाली काङ्ग्रेसका नेता तथा युवा व्यवसायी पर्वत राईले जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो । उक्त पक्राउ घटनामा नगरप्रमुखले उक्त आशयको स्टाटस पोष्ट गरेका थिए । पछिल्लो एक वर्षमा नगरप्रमुखले दबावमूलक स्टाटस लेखेका थुप्रै उदाहरण छन् ।
धेरैलाई लागेको थियो– स्वतन्त्र नगरप्रमुख राजनीतिक दलका जस्तो कार्यकर्ता हुँदैनन् र समान व्यवहार गर्लान् भन्ने । तर, अपेक्षा विपरीत भएको छ । गत साउन ६ गते नगरप्रमुख राई समर्थकसहित ठूलो समूह लिएर धरान–२० स्थित छोटी मोरङमा वृक्षरोपण गर्न पुगे । उक्त जग्गा धरान–१ का निवर्तमान अध्यक्ष तथा पर्यटन व्यवसायी रोशन अधिकारीकी श्रीमती रोजिना अधिकारीको नाममा दर्ता छ । रोशन र रोजिनाले आफ्नो जग्गामा वृक्षरोपण नगर्नू भन्दा नगरप्रमुखका समर्थक धरान–१५ का एमके राई भनिने मनकुमार राईले रोजिनामाथि हातपात गर्दै दुव्र्यवहार गरे ।
सोही विषयलाई लिएर रोजिनाले मनकुमारविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहारमा साउन ७ गते किटानी जाहेरी दिइन् । तर, जाहेरीपछि नगरप्रमुखको दबावमा प्रहरीले हालसम्म पक्राउ गरेको छैन । यस विषयमा निवर्तमान अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी अधिकारीले नगरप्रमुखको दबावकै कारण प्रहरीले पक्राउ नगरेको आरोप लगाए । महिलामाथिको अभद्र व्यवहारलाई नगरप्रमुख राईले प्रहरीलाई सामान्य घटना हो छाड्दिनू भन्दै दबाव दिएको उनको भनाइ छ ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले दबाव आउनु स्वभाविकै भए पनि प्रहरीले आफ्नो काम गरिरहेको दाबी गरे । केही समयअघि धरान–१७ को वडा कार्यालयमा बैठक भइरहेको अवस्थामा वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई दुव्र्यवहार गर्ने नगरप्रमुख राईका समर्थकलाई पक्राउ गर्दा नगर प्रमुख राईले छुटाउन दबाव दिएको अध्यक्ष स्वयम्ले बताएका थिए । धरान–१७ का वडाध्यक्ष भट्टराईले कार्यालयमा तोडफोड गर्दासमेत समर्थकलाई छुटाउन नगरप्रमुखले दबाव दिएको बताए ।
उनले भने, ‘वडासदस्यलाई जाहेरी फिर्ता लिन मेयरले दबाव दिएपछि मैले जाहेरी दिएको छु ।’ नगरप्रमुख राईले छुटाउन दबाव दिएको अडियोसमेत सार्वजनिक भएको थियो । वडाध्यक्ष भट्टराईलाई नै सामाजिक सञ्जालमा अपशब्द गर्र्नेलाई नगरप्रमुख राईको दबावमा प्रहरीले पक्राउसमेत नगरेको बताए । अध्यक्ष भट्टराईले भने, ‘धरान–१० का एक पत्रकार हुँ भन्ने युवाले सामाजिक सञ्जालमार्फत् मेरो चरित्र हत्या गर्दा उजुरी दिए पनि मेयरले पक्राउ गर्न दिएका थिएनन् ।’
यसरी नगरप्रमुख राईले उनका समर्थकलाई कानून उल्लङ्घन गरेको घटनामा पनि संरक्षण गर्दै आएका छन् । बुद्धिजीवी डा. राजेन्द्र शर्माले नगरप्रमुख राईले पनि राजनीतिक दलहरूको झैँ प्रवृत्ति देखाएको बताए । उनले भने, ‘मैले घटनाहरू हेरिरहेको छु । मेयर पनि आयातित मान्छे होइनन्, नेपालकै बिउ हुन् ।’ उनले हालका नगरप्रमुख दलीय नगरप्रमुखहरूभन्दा फरक बन्न नसकेको बताए । उनले २०४६ सालपछि नेपाली राजनीतिमा देखिएको विकृति नगरप्रमुख राईमा देखिँदै आएको बताए । उनले खानेपानी अभियान, वृक्षरोपण अभियान राम्रै भए पनि अपराधीलाई संरक्षण गर्नु विल्कुल नराम्रो भएको बताए । उनले भने, ‘अनैतिक कार्य गर्ने र गुण्डागर्दीलाई संरक्षण गरे भने विस्तारै लोकप्रियता घट्छ ।’