नेसनल मल्टिपल कलेज धरानमा अध्ययनरत एरिक राई चौथो वर्षको परीक्षामा कोशी प्रदेशमै उत्कृष्ट बनेको कलेजले दाबी गरेको छ । 

कलेजका प्रमुख मित्र तामाङले २०७९ सालको माघ महिनामा सञ्चालित स्नातक तहअन्तर्गत बीएड आइसिटीतर्फ कोशी प्रदेशमै उत्कृष्ट अङ्क ल्याएको जनाए । उनका अनुसार परीक्षामा राईले ७४ प्रतिशत अङ्क ल्याउँदै कलेजको नाम राख्न सफल भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको बीएड आइसिटीमा अन्य कलेजले हालसम्म ७० प्रतिशतको हाराहारीमा मात्रै अङ्क ल्याएको सुन्नमा आएकाले नेसनल मल्टिपल कलेजका राई नै उत्कृष्ट भएको उनले दाबी गरे । यसैबीच कलेजले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । कलेजका प्रशासक नवीन राई, स्नातक को–अर्डिनेटर हेमन्त भण्डारीलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।