धरानका राजनीतिक दलहरुले कोशी प्रदेशका मुख्यमन्त्रीलाई डेंगी नियन्त्रण गरिदिन हारगुहार गरेका छन् । धरानका ६ राजनीतिक दलले डेंगी नियन्त्रणमा आवश्यक पर्ने सामग्रीको सूचीसहित माग गरेका छन् ।
धरानका राजनीतिक दलहरु एकातिर लार्र्भा खोज्ने, नगर प्रमुख अर्कातिर जाने, टिएलओहरुले सहयोग नगरेको गुनासोका गीत गाइरहने भएपछि राजनीतिक दलहरु आज बिहानै मुख्यमन्त्रीलाई धरानमा डेंगीको प्रकोप बढ्यो भन्दै ध्यानाकर्षण गराउन पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालयको विपद् व्यवस्थापन समितिले धरानलाई आपतकालीन स्वास्थ्य संकटको क्षेत्र घोषणा गर्ने प्रस्ताव ल्याउँदा सेना, प्रहरी सीमामा जाने हो, मच्छड मार्न बन्दुक बोकेर किन आउने ? भन्ने अभिव्यक्ति दिएका नगर प्रमुखलाई दलहरुले गम्भीर आरोप लगाएका छन् ।
मुख्यमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा धरानका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राप्रपाले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने विकराल अवस्थामा धरान रहे पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले भने नगरभित्र केही नभएको जस्तो ढंगले दम्भ र अहंकारपूर्ण अभिव्यक्ति दिँदै डेंगीका कारण केवल एकदुई जनाको मात्र मृत्यु भएको अरु दीर्घ रोगीको मात्रै मृत्यु भएको जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
दलहरुले स्थानीय सरकार गैरजिम्मेवार र लाचार भएको अवस्थामा धरानका राजनीतिक दल मुकदर्शक भएर किमार्थ बस्नु हुँदैन भनी आफ्नै बलबुताले भ्याएसम्म बिरामीको उपचार र डेंगी महामारी नियन्त्रणको प्रयास गरेको उल्लेख गरेका छन् । डेंगी रोकथामका लागि दलहरुबाट निर्वाचित जनप्रतिनिधिले शिविरसमेत सञ्चालन गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
डेंगी महामारी नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोय अभियानसमेत दलहरुले चलाए पनि पर्याप्त नभएको भन्दै प्रदेश सरकारसँग सहयोगको अपिल गरेका छन् । दलहरुले प्रदेश सरकारलाई सिबिसी मेसिन १ थानसहित आइआरएस, सिरिन्जदेखि सलाइनसम्म माग गरेका छन् ।
सूची हेर्नहोस् ।