२०२२ सालमा समूह गठन गरेर धरानमा सुरु गरिएको लाखेनाचको यो वर्षको निरन्तरता ‘मर्यादित लाखेनाच’ अभियानसँग सुरु गरिने भएको छ ।
समाज सेवा र सांस्कृतिक जागरणको इतिहास रहेको लाखेनाच धरानमा २०२९ सालमा दानबहादुर शाक्यको नेतृत्वमा पुस्तकालय निर्माणका लागि ‘लाखेनाच प्रदर्शनी’ गरिएपछि निरन्तर समाजसेवामा समर्पित रहेको छ ।
शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै नेवाः देय् दबू धरान उपमहानगर समितिले अमर्यादित र अनधिकृत रुपमा आर्थिक संकलनको माध्यम बनाइएको लाखेनाचलाई मर्यादित बनाउने सन्देशसहित यो वर्ष आगामी भदौ ४ गतेदेखि २१ गतेसम्म मनाउने निर्णय गरिएको जनाएको छ ।
आधिकारिक रुपमा धरान दबूमा २२ लाखे समूह सूचीकृत छन् । अनधिकृत आर्थिक संकलन गरिंदै आएको व्यवसायीको गुनासोपछि गत वर्षदेखि नै लाखे समूह सूचीकृत गर्ने दबूले निर्णय गरेको थियो । यो वर्ष धरानमा लाखे नाचलाई मर्यादित तथा व्यवस्थित गर्न ९ बुँदे आचारसंहितासहितको सार्वजनिक सूचना जारी गरिएको सचिव दिपेन्द्र श्रेष्ठ कसजुले जानकारी दिए ।
पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै दबूले राष्ट्रिय संस्कृति र पहिचानको निम्ति धरानमा मर्यादित लाखेनाच गरौं भन्ने नारा जारी गरिएको छ ।
भानुचोकमा प्रतियोगितात्मक प्रदर्शनी
धरान दबूले यो वर्ष सुनसरी जिल्लाका ५० बढी लाखेनाच समूहलाई प्रतियोगितात्मक प्रदर्शनीका लागि निम्तो दिएको छ ।
भदौ १८ गते बिहान १० बजेदेखि भानुचोकमा लाखेनाच प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको विजेताले प्रमाणपत्रसहित नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो, तेस्रो र सान्त्वना समूहले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहति प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सहभागी प्रतियोगी समूहले दर्ता शुल्क २ हजार रुपैयाँ बुझाउनुपर्ने संयोजक अमृत श्रेष्ठले जानकारी दिए ।