राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेतालाई फोहोरको थुप्रोको संज्ञा दिएका छन् । झापा क्षेत्र नम्बर ३ स्थित बनियानी बजारमा शनिबार आयोजना गरेको सङ्गठन निर्माणमा अवसर र चुनौती कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले छुद्र टिप्पणी गरेका हुन् ।
पूर्व गुहमन्त्री तथा चितवन क्षेत्र नम्बर २ का सङ्घीय सांसद समेत रहेका लामिछानेले आउँदो ०८४ सालको निर्वाचनमा फोहोरलाई सफा गरिसक्ने दाबी गरे । पुराना तथा ठूला नेताहरु पहाड नभएर एउटा गन्हाउने फोहोरको डङ्गुर भएको आरोप लगाएका थिए । उनले पुराना नेताहरुले अवैद्य सम्पत्ति लुकाउन लागि परेको आरोप समेत लगाए ।
पुराना राजनीतिक पार्टीका नेताहरू ३२ वर्ष लगाएर भेला पारेको अवैध सम्पत्ति लुकाउन बल गरिरहेको उनको भनाइ थियो । देशलाई कङ्गाल बनाएर थुपारेको सम्पत्तिको हिसाब खोज्ने उनले बताए ।
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन भएको लामिछानेले बताए । देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएको उनको भनाइ थियो । पुराना राजनीतिक दलका अनैतिक सेटिङले नै युवामा देशभित्र केही गर्ने जाँगर हराएको बताए ।
चितवनमा चलाएको ब्लु–बसको विषयमा स्पष्ट पार्दै लामिछानेले सार्वजनिक यातायातमा महिलामाथि दुव्र्यवहारको घट्ना हुन नदिन महिलाका लागि मात्रै ब्लु–बस चलाएको बताए । अनेकौ मुद्दा चलाएर मुद्दाको व्यापार बन्द भएपछि लाञ्छना लगाउने पसल सुरु गरेको उनको आरोप थियो ।
कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले अब राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य पार्टीले देश बनाउन नसक्ने ठोकुवा गरे । नातावाद, कृपावाद गरेर कार्यकर्ता जोगाइरहने अन्य पार्टीमा देखिएको उल्लेख गर्दै पार्टी हितविपरीत कुनै प्रमाण फेला परेमा जुनसुकै तहका नेतालाई घर पठाइने उनको भनाइ थियो ।
त्यसैगरी सांसद निसा डाँगीले नयाँ घरमा बस्ने कि भत्केको घरमा बस्ने आफैं निर्णय गर्न उनले सुझाव दिइन् । मेची प्रादेशिक अस्पतालको विषय पहिलो पटक संसद भवनमा उठाएको उनले बताइन् । अबको कार्यदिशा देशमा सुशासन ल्याउने तर्फ लागिपरेको उनको भनाइ थियो ।
पार्टीले शुक्रबार र शनिबार झापाका पाँच वटै क्षेत्रमा खुला सभाको आयोजना गरेको छ ।