काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजेका लागि प्रदेशसभाकाे बैठक बाेलाइएकाे छ ।
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न एमाले वा राप्रपाका सासदले सभा सन्चालन गर्नुपर्ने हुन्छ । तर मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छन् ।
बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए । थापाको मागविपरीत उपसभामुख दनुवारले भने आजका लागि समय तय गरेकी थिइन् । उपसभामुख दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन् ।
उपसभामुख दनुवारले ५ बजेपछि गराइएको जानकारी कार्यव्यवस्था शाखाले दर्ता भने गरेको छैन । उपसभामुख दनुवारले कोशी प्रदेशसभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ ।
सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ ।
सोही नियम अनुसार कोशी प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी,राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन् ।
अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेशसभा सदस्य अम्बर बहादुर विष्ट र एमालेका मालती कुमारी सुब्बा हिजै घरायसी काम परेको भन्दै बिदामा बसेका छन् ।अध्यक्ष मण्डलमा रहेका इस्राइलमन्सुरी गीता भन्दा ज्येष्ठ सदस्य हुन् ।
उनी नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४(२) बाट निर्वाचित भएका हुन् । उप सभामुख बिदामा बसेपछि अब प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नु पर्ने छ ।
उप सभामुख दनुवारले आफ्नो अनुपस्थिति भएको बेला सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी छन् । उनले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्न भन्दै नफर्किन्जेल सम्मका लागि सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी हुन् ।
कोशी प्रदेश सभामा रहेका एमालेका ७ र राप्रपाका २ जना प्रदेश सभा सदस्यले हिजै बिदा लिइसकेका छन् । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
थापाले यस बारेको सूचना शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी थिइन् । मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए । उनले ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
बैठककाे कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएकी थिइन् ।
कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गाैतमलाई राजीनामा गराएकाे थियाे भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेकाे थियाे ।
सभा संचालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) संख्या पुर्याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा संचालन गर्नुपरेकाे अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।