कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परालाई तोडेको आरोप लगाएका छन् ।
विराटनगरको एक होटलमा गठबन्धनका नेताहरूसँगको छलफलपछि मुख्यमन्त्री थापाले संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसभामुखले संसदीय व्यवस्थालाई धरापमा पार्ने काम गरेको आरोप लगाए ।
कोशी प्रदेश उपसभामुख दनुवार बिरामी बिदा बसेपछि आज बस्ने भनिएको प्रदेश सभाको बैठक अनिर्णित बनेको छ । बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बिना निष्कर्ष टुंगिएको थियो । उपसभामुखले आज गरेको काम गलत भएको समेत उनले बताए ।
राज्य व्यवस्था र संसदीय व्यवस्थाबीच द्वन्द्व बढाउने काम उपसभामुखले गरेको उनले बताए । विश्वासको मत लिने आधारहरू पनि धेरै रहेको उनले बताए ।
‘अब हामी सबै ढोका खुल्ला गरेर जान्छौं । अदालत जानु पर्छ कि प्रदेश सभामा बसेर छलफल गर्नु पर्छ कि बाहिर बसेर छलफल गर्नु पर्छ । यसका लागि हामी तयारी गर्दैछौं । उपसभामुखलाई विश्वासको मतमा बस्ने मनशाय थिएन भने समय नदिएको भए हुने थियो ।’ उनले भने ।
विश्वासको मत लिनका लागि सबैसँग छलफल गरेर नै अगाडि बढेको समेत उनले बताए ।
मुख्यमन्त्री थापाले बजेटका विषयमा पनि सहमति भएको बताए । अघिल्लो सरकारले ल्याएको बजेटको ८५ प्रतिशत नचलाउने र अहिलेको सरकारले १५ प्रशित मात्रै फेरबदल गर्ने सहमति भएको थियो । थापाले भने, ‘सहमति एउटा गरेर काम भने अर्कै गरेको देखियो ।’ उनले हिकमत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट पूरै परिवर्तन गर्ने समेत संकेत गरे ।
अघिल्लो सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । उनी बिदामा बसेसँगै अब प्रदेश सभा बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको छ ।
यसअघि नै एमालेले आफ्ना ज्येष्ठ ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई बिदामा राखेको छ । उपसभामुखले राजीनामा दिएको अवस्थामा जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकाले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेका हुन् ।
कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो । प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको छ ।
हाल कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ जना सांसद छन् ।