जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत इन्टर्न चिकित्सकहरूले प्रतिष्ठानका पदाधिकारीसँग वार्ताको माग गर्दै धर्ना दिएका छन् ।
सोमबार प्रतिष्ठानका रेक्टरले आन्दोलनरत पक्षलाई व्यक्तिगत रुपमा बोलाए पनि पदाधिकारीसँग इन्टर्न चिकित्सकले वार्ता गर्र्न सकेका छैनन् । तीन घण्टादेखि प्रतिष्ठानका पदाधिकारी कोठाभित्र छलफलमा बसेको छन् भने चिकित्सकले बाहिर धर्ना दिइरहेका छन् ।
‘रेक्टरले इन्डिभिजुअल्ली बोलाउनु भएको थियो, तर अहिलेसम्म वार्ता हुन सकेको छैन, भित्र पदाधिकारी बीचमा छलफल भइरहेको छ, हामीलाई प्रवेश गर्न दिइएको छैन,’ इन्टर्न चिकित्सक नगेन अधिकारीले भने, ‘हाम्रै विषयमा उहाँहरुले छलफल गर्नु भएको हो कि, वा अन्य विषयमा हो, के भइरहेको छ, जानकारी छैन ।’
हाल इन्टर्न चिकित्सकलाई प्रतिष्ठानले जीवन निर्वाह भत्ताबापत १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर, हालको महँगीअनुसार २३ हजार रुपैयाँ पु¥याउनुपर्ने उनीहरूको माग छ । मागअनुसार साउन महिनाको तलब २३ हजार रुपैयाँ प्रदान गरे पनि चिकित्सकहरुले काम सुरु गरेको समय १५ फेब्रुअरी २०२३ देखिकै तलब पाउनुपने माग गर्दै आएका छन् । ‘आन्दोलनरत पक्षसँग नबसी साउनको तलब हालिएको छ । वार्ता गरेर ६ महिनाअघिदेखिकै तलब पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ एक चिकित्सकले भने ।
प्रतिष्ठानमा एक सय ३० जना इन्टर्न चिकित्सकहरू रहेका छन् ।
बीपी प्रतिष्ठानका कामयमुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले नै साउन १४ गते प्रा.डा. पारसकुमार पोखरेलेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विद्यार्थी प्रतिनिधिको रूपमा डा. ओमशान्ति रजक, प्रशान्त राई, हरिषबहादुर मल्ल, राजुराज शाही र मोहम्मद अफ्रोज रहेका थिए । उक्त समितिले साउन १६ गते चार बुँदे सिफारिस प्रतिवेदन प्रतिष्ठानलाई बुझाएको थियो ।
उक्त बुँदाको पहिलो नम्बरमा इन्टर्नसिप सुरु भएको मितिदेखि नै लागू हुने गरी मासिक २३ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गर्ने सहमति गरिएको छ । त्यस्तै विगतमा भएका सहमतिहरूमध्ये कतिपय पालना नभएकाले विश्वासको वातावरण नबन्ने हुँदा अब उप्रान्त भएका सहमतिहरू पलना गर्नसमेत राय सुझाव पेश गर्ने, इन्टर्न चिकित्सकहरूको मागका कारण कुनै पनि इन्टर्नहरूलाई पूर्वाग्रह व्यवहार हुने छैन भन्ने सुनिश्चिततालगायत माग राखिएको छ ।
त्यस्तै आगामी दिनमा प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीहरूको तलव वृद्धि हुँदा सोही अनुपातमा इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता वृद्धि गर्न सिफारिस गरिएको छ ।
तर, उक्त बुँदाहरू पनि हालसम्म सुनुवाइ नभएपछि बाध्य भएर काम छाडी आन्दोलन गर्नुपरेको चिकित्सकहरुको भनाइ छ ।
‘चार जना पदाधिकारीहरू एक ठाउँमा बसेर छलफल गर्नुभयो भने यो मुद्दा एकैछिनमा टुंगिन्छ । रिकोमन्डेड गरेका बुँदाहरू पूरा गर्न नसकिने भन्ने केही छैन’– एक चिकित्सकले भने ।
इन्टर्न चिकित्सकहरूले पहिलो पटक वैशाख २१ गते प्रतिष्ठानलाई ध्यानाकर्षण गराएका थिए । त्यसयता उनीहरू जेठको ३१ गतेदेखि चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए । बीचमा समिति बनेकाले माग पूरा हुने आशा गरे पनि हालसम्म माग पूरा हुन सकेको बताइएको छ ।