कोशी प्रदेशसभाको बैठक ३ बजे बस्ने भनिएको बैठकको तयारी भइरहेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची तय गरेको थियो ।
आज बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउने कार्यसूची तय गरिएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गर्ने छन् । विश्वासको मतमा मन्सुरीलाई मतदान गराउने गठबन्धनले तयारी गरेको छ ।
सभामुखको भूमिका निर्वाह गर्नुपर्ने उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डलमा रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बिदामा बसेपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो ।
बैठकको अध्यक्षता गर्नुहुने इस्राइल मन्सुरीले पनि मतदान गर्ने गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले बताए ।
एमाले र राप्रपाका सांसद बिदामा बसेपछि अध्यक्ष मण्डलमा रहेका कांग्रेसका मन्सुरीले बैठक सञ्चालन गर्नुपर्ने भएको छ ।
यसअघि आफ्नो पक्षमा बहुमत पुर्याउन सभामुखलाई राजीनामा दिन लगाएको गठबन्धनले एमालेबाट निर्वाचित उपसभामुख दनुवारले बैठक चलाए सहजै बहुमत पुग्ने रणनीति बनाएको थियो ।
तर एमाले बैठक नै नचलाउने दिशामा गएपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो । अध्यक्षता गरेका मन्सुरीलाई भोट हाल्नेबारे गठबन्धनले महान्यायाधिवक्तासहित प्रदेशका मुख्यन्यायाधिवक्तासँग पनि परामर्श गरेको गठबन्धनका एक नेताले जानकारी दिए ।
अध्यक्षता गर्ने व्यक्तिले बराबर मत नभएको अवस्थामा मत हाल्न पाउने व्यवस्था कानूनमा छैन ।