नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुलुकको व्यवस्था नै असफल पार्ने ठूलो षडयन्त्र भइरहेको बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा तथा प्रचार कार्यशालालाई सम्बोधन गर्दै नेता कार्कीले वर्तमान गठबन्धन सरकारको षडयन्त्र नेकपा एमालेका विरुद्धमा र खासखास नेताका विरुद्धमा मात्र नभएर नेपालको सार्वभौम सत्ताको विरुद्धमा प्रयोग भइरहेको अनुभूति गरेको कार्कीले बताए । 

उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै कार्कीले भने, ‘यस कुरामा हामी कति सिरियस छौं, कति, कस्तो योजना बनाएर अघि बढ्छौं, त्यो नेकपा एमालेमा निर्भर रहन्छ– मुलुकको सार्वभौम सत्ता लम्बिने दह्रो हुने, बलियो हुने मुलुकको राष्ट्रियता बलियो हुने कुरा नेकपा एमालेका तमाम नेता कार्यकर्ताको हातमा नै अन्तरनिहीत छ भन्ने मेरो बुझाइ रहेको छ ।’

नेता कार्कीले करिब दुईतीन महिनामा एमालेविरुद्ध षडयन्त्र भइरहेको बताए । ‘एमालेसहितको गठबन्धन तोडियो, तोडिएको भोलिपल्टदेखि सुरु भएको सबै प्रचारका तौरतरिका, गतिविधि र विषयलाई हेर्नुभयो भने, नेकपा एमालेका विरुद्ध लक्षित नभएका कुनै पनि  प्रचार छैनन्,’ नेता कार्कीले भने, ‘चाहे नक्कली भुटानी शरणार्थीका कुरा गर्नुस्, चाहे पशुपतिमा प्रयोग भएको जलाहारीको कुरा गर्नुस्, चाहे ललिता निवासको कुरा गर्नुस्, चाहे अरु उठाउँदै गरिएका विषयवस्तु हेर्नु भयो भने, नेकपा एमालेका विरुद्धमा प्रचार भएका छन् । 

UML Koshi Pradesh Pro (2)

नेता कार्कीले उठाइएका सबै कुरामा पार्टीका अध्यक्षलाई जोड्ने र केही नेताहरुलाई जोड्ने र  प्रहार गर्ने काम भइरहेको बताए । उनले कुनै तुक नभएका विषयमा, असम्बन्धित विषयमा पनि जोड्ने काम भइरहेको बताए । ‘हाम्रै पार्टीका कतिपय क्याडरहरुका टिप्पणी हेर्छौं, हामी नै पो दोषी हौं कि भन्ने कुरा पनि कतिपय साथीहरुका टिप्पणीबाट देखिएको छ,’ नेता कार्कीले भने, ‘हामीले त्यस कुरामा विशेष ध्यानदिनुपर्छ । यसको मतलब हाम्रामा भएका खराबी, खराब मान्छे, चरित्र र पात्रलाई पूजा गर्नुपर्छ, राख्नुपर्छ, जोगाउनुपर्छ भन्ने होइन । म त्यो मान्यता पनि राख्दिनँ ।’

नेता कार्कीले पार्टीभित्र समेत आलोचना निर्ममतापूर्वक राख्नुपर्ने बताए । उनले भने, ‘तर भएका विषयमा मात्रै । नभएका विषयमा होइन ।’ 

पार्टी अध्यक्ष केपी ओलीलाई गठबन्धनको सरकारले सुन बोकेर हिंडेको आरोप लगाएको नेता कार्कीले बताए । एमालेका कतिपय मान्छे पनि त्यही कुरालाई पत्याएर टिप्पणी गर्ने गरेको विषय आफूलाई अनुभूति भएको नेता कार्कीले बताए ।  

UML Koshi Pradesh Pro (1)

‘सरकारले पशुपतिमा जलाहारी राख्न दियो, प्रधानमन्त्रीको निर्देशन भयो होला, पर्यटन मन्त्रालयले त्यो काम गर्यो होला । त्यहाँ पशुपति विकास कोष अर्को स्वायत्त संस्था छ । त्यसले ठीक ढंगले राख्यो कि राखेन उसलाई जिम्मेवारी दिएको हो । त्यसले पूरै तौल राख्यो कि राखेन, त्यसले कहाँकहाँ दुरुपयोग गर्यो, त्यहाँ हान्नुपर्ने होइन ? केपी ओलीले सुन बोकेर हिंडे, चोरे भन्ने कुरालाई केपीका पहेंलपुर तस्बिरमा हामीले पत्याइरहेको जस्तो पनि अनुभूति हुने ।’ नेता कार्कीले भने । 

गठबन्धन सरकारले एमालेविरुद्ध अरु पनि धेरै कुराहरु उठाइरहेको बताए । 

आसन ग्रहणमा निर्देशन पालना

विराटनगरमा सुरु भएको नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा तथा प्रचार कार्यशालाले नेकपा एमाले केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन गर्दै अध्यक्षबाहेक सबै नेता–वक्ता मञ्चमा रहने पुरानो परम्परा तोडेको छ ।

UML yojana tarjuma_Koshi Pradesh_blastkhabar.com

कार्यशालामा दर्शकदीर्घाको पहिलो लहरमा प्रमुख अतिथि सचिव तथा कोशी इञ्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य, कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीसहित सबै नेता रहेका छन् । 

कार्यशालाले पार्टीविरुद्ध प्रयोग हुने अफवाहलाई तथ्यको आधारमा तोड्ने अठोटसहित ठोस कार्ययोजना बनाउने निर्णय गरेको भेलामा सहभागी प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।