एकीकृत समाजवादी पार्टी कोशी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले गठबन्धन दलसँग बहुमतको लागि ४७ सांसद रहेकाले सरकार बनाउने कुरा बलजफ्ती र जालसाजी नभएको बताएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छलफलमा बोल्दै उनले यो सांसदको संख्याले निर्धारण गर्ने कुरा भएको बताए । आज पनि उद्धव थापाको पक्षमा ४७ सांसद रहेको दाबी गर्दै उनले यो प्रदेशको सरकार बन्ने बताए । यसलाई जालसाजी गरेर वा मुद्दा मामिला गरेर हुने कुरै नभएको पनि उनले बताए ।
‘उद्धव थापाको पक्षमा ट्याग लगाएर ४७ जना सांसद उद्धव थापा लेखेर अदालतमा उपस्थित हुन तयार छन् र संसदमा पनि तयार छौं । ४७ भएपछि यो प्रदेशको सरकार बन्छ । यो भएपछि मुद्दा मामिला गरेर रोक्ने कुरा नैतिकवान हुँदैन,’ उनले भने ।
मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतको लागि समय तोक्ने काम उपसभामुखले पहिलो पटक गर्नु सामान्य नभएको बताउँदै उनले संसारको कुनै पनि संसदीय अभ्यासमा नभएको कुरा गर्नुमा के उद्देश्य थियो भन्ने प्रश्न गरे ।
उपसभामुखले सभाध्यक्षता गर्न नसकेको अवस्थामा जेष्ठ सदस्यले अध्यक्षता गर्नुपर्नेमा कार्यालय समय सकिँदा पनि अघिल्लो दिन ९ जनाले बिदाको चिठी लेखेको उनले बताए । यो बिदाको नाटक मञ्चन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन असुविधा बनाउने मनसाय रहेको बताए ।