विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट बच्चा अकस्मात हराएको घटना बाहिरिएको छ । अविवाहित महिलाबाट जन्मिएको एक दिनको नवजात शिशु एकाएक हराएको पाइएपछि चिकित्सकसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२६ वर्षीया अविवाहित महिलाबाट जन्मिएको नवजात शिशु हराएपछि मोरङ प्रहरीले उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णसहित प्रेमी भनाउँदा भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए । पक्राउ परेका गोविन्द बच्चा जन्माउने महिलाका प्रेमी हुन् । प्रेमी र चिकित्सक कर्णले मिलेर शिशु गायब बनाएको भन्दै महिलाले नै उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको डिएसपी दाहालले जानकारी दिए । असार १३ गते ती महिलाले ग्रीनक्रस हस्पिटलमा ‘नर्मल डेलिभरी’ मार्फत् छोरी जन्माएकी थिइन् ।

उनीहरूको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दीपेश मेडिकल हलमा लिएर आए । उक्त क्लिनिक डा. कर्णको हो । डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) पनि हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले क्लिनिक चलाउँदै आएका थिए । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका थिए । क्लिनिकदेखि ग्रीनक्रस ५० मिटरको दूरीमा पर्छ । उनले ती महिलाका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ ।

अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको नाम फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा भेटिन्छ । डिस्चार्ज हुँदा नवजात शिशु गोविन्दले हस्ताक्षर गरेर बुझेको प्रमाण ब्लाष्टले फेला पारेको छ ।

प्रेमीले छाडेर भागेपछि शिशुको खोजी
अस्पतालले डिस्चार्ज दिएपछि प्रेमी गोविन्दले प्रेमिकालाई इटहरी लिएर गए । ‘बच्चाविना नै टेम्पोमा राखेर उहाँ (गोविन्द)ले मलाई इटहरी पु¥याउनुभयो । बसपार्कछेउको होटलमा कोठा लिएर राख्नुभयो । बच्चा खोइ ? भन्दा अस्पतालमै छ भन्नुभयो । दुई दिनपछि (असार १६ गते) मेरो काम छ, बस्दै गर्नू भन्दै होटलबाट निस्किनुभयो । त्यसपछि फर्किएर आउनुभएन । होटलको नाम मलाई थाहा छैन’–नवजात शिशु खोज्दै हस्पिटलमा भेटिएकी ती महिलाले भनिन् ।
होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको उनले सुनाइन् । उनले गोविन्दले छाडेर गएको र खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेर सोनापुरमा डेरा लिएर बसेको बताइन् । ‘मैले जिउँदै बच्चा जन्माएकी हुँ । छोरी जन्मिएको भनेर नर्सहरूले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन् । गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायब बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परेँ । धेरै पीडा सहेर बसेँ ।’ बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको गुनासो उनको छ । होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।

पक्राउ परेपछि चिकित्सक अस्पताल भर्ना
उपचारमा संलग्न चिकित्सक र प्रेमीविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । त्यसपछि प्रेमी गोविन्द प्रहरीको सम्पर्कमा आए । गोविन्द प्रहरीको सम्पर्कमा आएका दिन बिहीबार पक्राउ परे । प्रहरीले डा. कर्णलाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ । ‘उपचाररत रहेका कारण सोधपुछ गर्न र घटनाका बारेमा सबैकुरा बुझ्न पाएकै छैन’ डीएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट डा. कर्णले नै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गरेको भन्ने खुलेको छ ।’

उनका अनुसार डा. कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको बताएका छन् । तर, पक्राउ परेका गोविन्द र महिलाले बच्चा आफूहरूसँग नरहेको बताए । दाहालका अनुसार चिकित्सकले युवतीलाई असहज भएकाले तत्कालै बच्चा बाहिर निकाल्नुपर्ने अवस्था आयो भनेर भनेका छन् । ‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी बेथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्’ उनले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’ तर, गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ । उनका अनुसार बच्चा कहाँ पु¥याइयो भन्ने खुल्न बाँकी छ । ‘दुवै जना (चिकित्सक र गोविन्द)लाई सँगै राखेर सोधपुछ गर्न पाए वास्तविकता खुल्थ्यो’ डिएसपी दाहाल भन्छन्, ‘चिकित्सक उपचाररत अवस्थामा रहेकाले त्यो सम्भव भइरहेको छैन ।’ विवाहपूर्वको सम्बन्धबाट जन्मिएको बच्चा गायब बनाइएको भनेर महिलाले कारबाहीको माग राख्दै चिकित्सक र प्रेमीविरुद्ध किटानी जाहेरी दिएको उनले बताए ।

महिलाले मिलेमतोमा बच्चा गायब बनाइएकाले खोजी पाऊँ भनेर माग पनि गरेकी छन् । उनले बच्चा नर्सहरूले लिएर गएको र त्यसपछि आफूले नदेखेको बताइन् ।  ‘बच्चा जन्मिएपछि नर्सहरूले लिएर गएको थाहा छ, अरू थाहा छैन’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा आजसम्म पाइनँ ।’ उनले गोविन्दसँग दुई वर्षदेखि आफू प्रेमसम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि सुनाइन् । पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । अस्पतालका अध्यक्ष कृष्ण खवासले अस्पतालमा ९ सय ५० ग्रामको बच्चा जन्मिएको बताए ।

‘सामान्य प्रसूतिमार्फत् बच्चा जन्मिएको हो । तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचार गर्नसक्ने अवस्था भएन’ उनले भने, ‘एनआईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएकाले ग्रीनक्रसबाट रेफर गरियो । सुविधा सम्पन्न अस्पतालमा लैजानू भनेर बच्चा अभिभावकलाई नै जिम्मा लगाएका हौँ ।’ खवासले उपचार हुन नसकेपछि रेफर गरिएको बच्चा कसले कता लग्यो भन्ने थाहा नभएको बताए । उनले अस्पतालबाट कुन चिकित्सकले रेफर गरेका हुन् र बच्चा जिम्मा लिने अभिभावक को हुन् भन्ने खुलाएनन् । ‘हामीले उपचारका लागि अन्यत्र लैजानु भनेर रेफर गरेका हौँ’ खवास भन्छन्, ‘अरू कुरा थाहा भएन ।’