सांसदहरुको नाराबाजी र होहल्लाका बीच कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेशसभामा विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको छ । सभाको अध्यक्षता गरिरहेका सांसदले मतदान गरेपछि विपक्षीले नाराबाजी गरेका थिए ।
कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि विपक्षीले नाराबाजी गरेका थिए ।
मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले समेत मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिएका थिए । मत फिर्ता लिने समय चलिरहेका बेला उनले तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न बोलाए ।
९३ सदस्यीय प्रदेशसभामा ४७ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री थापाले सदनमा राखेको प्रस्तावको पक्षमा रहेको घोषणा गरिएको छ ।
एमालेका ३० प्रदेश सांसदहरूले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । राप्रपाका प्रदेश सासदसहरु भने अनुपस्थित भए । प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत पाएका छन् । उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन बिरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ।
संविधानको धारा १६८ को उपधारा (४) मा उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।
प्रदेश सभाको आगामी बैठक भदौ ६ गते १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरिएको छ ।