कोसी प्रदेश सरकारले विश्वासको मत लिने दिन संसद्मा जे देखिएको छ, त्यो जनमतमाथि कुठाराघात हो । सांसद्हरूलाई यही दिन देख्नका लागि जनताले मत दिएका थिएनन् । विश्वासको मत लिने दिन उपसभामुख अचानक अस्वस्थ भई काठमाडौँ जानुका साथै एमालेबाट निर्वाचित सात जना सदस्यहरू बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिनु त्यसको सङ्केत हो । जनताको प्रतिनिधि भएर संसद्मा पुगेपछि त्यहाँ जुन खालको गाईजात्रा देखिएको छ, यो माफी दिनलायक छैन । यस खालको निषेधको वातावरणले अन्ततः सांसद्हरूलाई नै घाटा छ । नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई विश्वासको मत नदिने जुन रणनीति अख्तियार गरिएको छ, त्यसले जनताको अभिमतमाथि कुठाराघात भएको प्रतीत हुन्छ । सभामुखले राजीनामा दिएको अवस्था छ भने उपसभामुख नै अहिले कार्यवाहकको जिम्मेवारीमा छिन् । तर, उनी एकाएक अस्वस्थ बन्नुले के सङ्केत गरेको छ ? प्रदेशसभा सञ्चालन गर्ने मुख्य जिम्मेवारी पाएकी उनी आफैले बैठक बोलाएर आफै बाहिरिनुले उनी आफ्नो कर्तव्यबाट च्यूत भएको प्रतीत हुन्छ ।
कोसीमा उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत पाएको अवस्था छ तर, त्यो वातावरण सिर्जना नहोस् भन्नका लागि निकै तिकडम गरिएको छ । बैठक सञ्चालन गरेका र कार्यबाहक जिम्मेवारी पाएकी उपभामुखले दिएको जिम्मेवारी पाएका इस्रायल मन्सुरीले पनि भोट दिएका छन् । त्यसले सत्तारुढ दलले ४७ मत त पाएको छ तर त्यस विषयमा विपक्षीहरूले सदनमा होहल्ला मच्चाएका छन् । बैठकको अध्यक्षता गरेकाले नै मत दिन नपाउने तर्क गरेर विपक्षी दलले सदन घेराउ गरेका हुन् । एकातिर नियोजित रूपमा बहुमत नपुर्याउने जुन खेल खेलिएको छ यसले विश्वासको वातावरण खल्बलिएको छ भने अर्कातिर गलत परम्परा पनि बसेको छ । एकले अर्कालाई निषेध गरेर जाने प्रवृत्ति हाबी हुनु भनेको पनि जनताको अभिमतमाथि कुठराघात गर्नु हो । नेपाली काङ्ग्रेस नेतृत्वको सरकार दोस्रो पटक मुख्यमन्त्री बन्ने ध्याउन्नमा थियो । तर, एमालेले अपनाएको प्रतिक्रियात्मक रणनीतिले गर्दा जालझेल गरी बहुमत पु¥याउने स्थिति सिर्जना गरेको छ । यसले नेताहरूको इमानमाथि पनि प्रश्न उठाएको छ । जसले जे रणनीति अपनाए पनि संसद्लाई अनिर्णयको बन्दीमा राख्ने कार्य आफैमा घृणित कार्य हो ।
अहिले संसद्मा जुन खालको राजनीति भइरहेको छ, यसले दीर्घकालीन असर गर्ने देखिन्छ । प्रदेश सरकार लामो समयसम्म नटिक्ने समस्या त हुन्छ नै विकास र समृद्धिको बाधक पनि बन्छ । संसदीय परम्परामाथि जुन खालको आक्षेपहरू लाग्दै आएका छन् । ती आक्षेपहरू पुष्टि गर्ने आधारहरू पनि यहाँको संसद्मा देखिएको छ । एमालेका सांसद्हरू एकैपटक अस्वस्थ हुने वातावरण सिर्जना कसरी भयो ? यस्ता घृणित कार्य कसको रणनीतिमा चल्यो ? यस्ता विषयमा सबै पक्षहरू गम्भीर हुन आवश्यक छ । यस्ता फोहोरी खेलका कारणले संसद् थप धुमिल हुँदै जानेछ । जनताको सांसद्प्रतिको विश्वासको वातावरण थप स्खलित हुँदै जानेछ । पार्टीको स्वार्थअनुरूप सांसद्हरू अगाडि बढ्दा गलत संसदीय अभ्यास हुन पुग्छ । नेताहरूको अहम्ताका कारणले गर्दा संसद्लाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । सबै सांसद्ले जनमतको हेक्का राख्नुपर्छ । सरकार कसले बनाउनेभन्दा पनि जनताको आजीविकासँग जोडिने विषयहरू पनि भएकाले सबैले जनताको अभिमतको सम्मान गर्न सिक्नुपर्छ ।