धरानको समसामयिक राजनीतिबारे धरानका अग्रज बुद्धिजीवी, प्राध्यापक र पत्रकारहरूसँग छलफल गर्न खोज्दा एकाधबाहेक कोही तयार भएनन् । सामान्य टिप्पणी गर्न पनि उहाँहरूमा एक प्रकारको भय थियो । धरानको वर्तमान राजनीति र दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार विजयी भएको विषयमा राजनीतिशास्त्रको स्नाकोत्तरका विद्यार्थीको थेसिस लेखनमा सहयोग पु¥याउन छलफल गर्न खोजिएको थियो । राजनीतिक दललाई निर्धक्क भएर आरोप लगाउने मात्रै होइन, गाली गर्नसमेत पछि नपर्ने वर्ग वर्तमान नगरप्रमुख हर्क साम्पाङको विषयमा भने बोल्न तयार नै भएन । वर्तमान नगरप्रमुखको पक्षमा बोलौं, उहाँको कार्यशैली र अभिव्यक्ति मन परेको छैन । विपक्षमा बोलौं उहाँको काम गर्ने हुट्हुटी औधी मन परेको छ । साथै गाली खाइएला कि भन्ने डरसमेत छ । धरानमा अहिले सामाजिक सञ्जाल हेर्ने हो भने स्पष्ट दुई कित्तामा बाँडिएर तथानाम गालीगलौज गर्ने ट्रेन्ड चलेको देखिन्छ । अनुहार छोपेर फेक आइडीको प्रयोग हिजो नगरप्रमुख पक्षका समर्थकहरूले मात्रै गर्थे, अहिले राजनीतिक दलका समर्थकहरूले समेत त्यही बाटो समातेको देखिन्छ । सामाजिक सञ्जालमा असरल्ल छरिएका यी दुई पक्षको फोहोरी दोहोरी संवादले धरानको इज्जत पक्कै पनि बढेको छैन । हालका नगरप्रमुख हर्क साम्पाङ आलोचना सहन गर्न सक्दैनन्, कसैले उनको तर्कसङ्गत विरोध गर्यो भने बहस गर्नभन्दा ‘गुइँठे’ र ‘झोले’ उपमा दिँदै, यसलाई हल्का जाओस् त भनेर आफ्ना समर्थकलाई गाली गर्न उक्साउँछन् । यसले उनको दम्भी चरित्र प्रष्ट झल्कन्छ ।
नगरप्रमुख साम्पाङमा राष्ट्रियता, राष्ट्रप्रेम, देश बनाउने हुट्हुटी भने पर्याप्त देखिन्छ । उहाँमा भएको राष्ट्रवाद अलि उग्र छ, जसलाई उग्र राष्ट्रवाद भन्न सकिन्छ । राष्ट्रवादले यो राष्ट्रप्रति मेरो जिम्मेवारी र उत्तरदायित्व छ भन्ने सिकाउँछ भने उग्र राष्ट्रवादले राष्ट्रको लागि म मर्न अनि मार्न पनि तयार छु भन्ने भाव सिर्जना गर्दछ । उग्र राष्ट्रवादले समाज, सम्बन्ध, सह–अस्तित्वलाई स्वीकार गर्दैन अनि सत्य र यथार्थलाई बेवास्ता गर्दै अघि बढ्छ । उग्र राष्ट्रवादीहरू लोकरिझ्याइँको पछि लाग्छन् र आम नागरिकको वितृष्णा, कमजोरी, डर र रिसमा खेल्छन् । आम नागरिकको यही भावनामा खेलेर समाजलाई विभाजन गर्दै आफ्नो स्वार्थको रोटी सेकिरहन्छन् ।
धरानका आम जनताले राजनीतिक दलको नेतृत्वको अकर्मण्यता, पटक–पटक निर्वाचित भएर जनआकाङ्क्षा विपरीत सत्ताको दम्भमा आफ्ना आसेपासे कार्यकर्ता र आफन्तलाई सत्ताको सुखभोग गराउन लिप्त हँुदै सत्ताको चरम दोहन र दुरुपयोग गरेका कारण स्थानीय निर्वाचन २०७९ मा दलीय व्यवस्थामा समेत विकल्पको रूपमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई निर्वाचित गरेका हुन् । उनलाई राजनीतिक दलका आम कार्यकर्तामात्रै होइन, अगुवा कार्यकर्ताले समेत आफ्नो दलको उम्मेदवार हँुदाहँुदै पनि मतदान गरेका थिए । किनकि राजनीतिक दलको नेतृत्वभित्र नवसामन्तवादी प्रवृत्ति हावी भएर स्थानीय दलमा अलोकप्रिय व्यक्तिले टिकट पाउँदा केही वडामा त अगुवा कार्यकर्ताले खुलेआमरूपमा हर्क साम्पाङसँग व्यक्तिगत चिनजान नभए पनि सामाजिक अभियन्ताको रूपमा धरान र धराने जनताको समस्या उठान गरेर हिँडेको व्यक्ति भएको कारण मत मागेर हिँडेका समेत थिए । तर, अहिले नगरप्रमुख साम्पाङ ती उनको पक्षमा मतदान गर्नेहरूलाई नै ‘झोले’ र ‘गुइँठे’ को उपमा दिँदै हतोत्साहित गरिरहेका छन् । नगरप्रमुख साम्पाङले आफ्नो कार्यशैली र सामाजिक सञ्जालमा जथाभावी लेख्ने बानीमा सामान्य परिवर्तन गरेर कार्य गर्ने हो भने मात्रै पनि अर्को कार्यकालसमेत उनले चुनाव जित्ने कुरामा दुईमत छैन । धरानका नगरप्रमुख हर्क साम्पाङ धमिलिँदै गएको धरानको राजनीतिमा कालो बादलमा देखिएको चाँदीको घेराजस्तो भएर देखिएका छन् । धरानेहरूको अपेक्षा उनीप्रति अत्यन्तै धेरै छ । हिजोको राजनीतिक दलको नेतृत्वले जस्तो जुन कुराको विरुद्ध सङ्घर्ष गरेर स्थापित भएको छ, पाएको अवसरमा त्यही कुरामा चिप्लने छुट उनलाई छैन । तर, उनमा पनि राजनीतिक दलको नेतृत्वमा जस्तै सत्ताको दम्भ देखिनुले अन्ततोगत्वा जुन जोगी आए पनि कानै चिरेको जस्तो त हुने होइन भन्ने सम्भावना पनि देखिन थालेको छ ।
नगरप्रमुख साम्पाङ धराने जनताको निराशा, कुण्ठा र आक्रोशको भावनालाई क्यास गरेर धरानको राजनीतिमा उदाएका एक उत्तेजक पात्र मात्रै होइनन् । उनी धरान र धराने जनताको आशाका पुञ्जसमेत हुन् । तर, सामान्य खानेपानी बोर्डको बैठक राख्न नसक्नु, आमसेवाग्राही र पत्रकारसमेतलाई नगर प्रमुखको सेवा सुविधामा नगरप्रहरीको सुरक्षा घेरामा बसेर तपाईं कुन दलको भनेर थर्काउनु, जातीय र धार्मिक विषयमा अनावश्यक टिका टिप्पणी गरेर विवादमा आउनुले गर्दा अपेक्षा गरेर हेरिएको नगरप्रमुख हर्क साम्पाङको कार्यकाल आफूले कड्केर, उप–प्रमुखले मुस्कुराएर, वडाध्यक्षहरूले विरोध गरेर अनि आम धरानेले सामाजिक सञ्जालमा त्यसको भिडियो हेरेर नै बित्ने खतरा बढेको छ । सामाजिक सञ्जालमा हर्क साम्पाङका धरानबाहिरका समर्थक मात्रै होइन, तथाकथित राजनीतिक विश्लेषकहरूले समेत धरानका जनताले हर्क साम्पाङलाई चिन्न नसकेको भनेर भन्नसमेत भ्याउँछन् । हर्क साम्पाङलाई धरानका जनताले नचिनेको भए कसले मतदान गरेर धरानको नगरप्रमुख बनाएको हो त ? आफ्नो नगर र गाउँपालिकामा चाहिँ त्यही राजनीतिक दलको उम्मेदवारलाई मत दिएर जिताएको छ । अनि धराने जनताले आफ्नो नगरप्रमुखसँग आफ्नो समस्या राख्दा चाहिँ ‘झोले’ र ‘गुइँठे’ को उपमा दिँदै तथानाम गालीगलौज गर्नेहरूले पहिले आफूलाई नै राम्रोसँग नियाल्दा हुन्छ ।
हुन त समाजमा स्वार्थ विभाजित हुन्छ नै । कसैले केही कुरा भन्यो वा ग¥यो भने आपूm अनुकूल भयो भने त्यसको पक्षमा देखिनु र आफ्नो प्रतिकूल भयो भने त्यसको विपक्षमा देखिनु स्वभाविक हो । त्यसैले नै त नेतृत्वले हेर्ने आँखा एकाङ्की हुनु हँुदैन भनिन्छ । समग्रताको आँखाबाट समाजलाई हेरेर, समाजलाई अग्रगामीरूपमा अघि बढाउनु नै राजनेताको पहिचान हो । समाजको दुर्बलता भनेको नै मतभेद हो । जसलाई हर्क साम्पाङ जस्तो सामाजिक अभियानबाट नेतृत्वमा आएको नेताले न्युनीकरण गर्दै लैजाने सामथ्र्य राख्नसक्नु पर्छ । आफ्नो कुनै अभिष्ट पूरा गर्न वा आफ्नो कमजोरी लुकाउन ती मतभेदमा खेल्न खोजियो भने कालान्तरमा परिणाम झन् भयानक हुनसक्छ । धरानका मतदाताले चलिरहेको राजनीतिक प्रवृत्ति र आचरणलाई भत्काएर नयाँ राजनीतिक विकल्पलाई स्थापित गर्न चाहेका हुन् । यो विकल्प पनि त्यति सहजरूपमा आएको होइन । आफूलाई यथास्थितिको राजनीतिक विकृतिको बलियो विकल्पको रूपमा धराने जनतासामु उभ्याउन हर्क साम्पाङले कठिन सङ्घर्ष गरेका छन् । यो विकल्पलाई पुराना विकृति विसङ्गति हटाएर धरानको आफ्नो ऐतिहासिक मूल्य मान्यतालाई जोगाएर स्थापित गर्नु झनै कठिन काम हो । हिजो धरान पूर्वको ऐतिहासिक नगरको रूपमा स्थापित हँुदा अस्तित्वमा नै नरहेका नगरहरू आज कहाँ पुगिसकेका छन् भने धरान निरन्तर पछि परिरहेको अवस्थालाई हटाएर हर्क साम्पाङको नेतृत्वमा धरानलाई विकासको बाटोमा द्रूतगतिमा एकताबद्ध भई अघि बढाउन ढिलो भइसकेको छ । तर, हामी हरेक क्षेत्रमा अनावश्यक विवाद झिकेर भद्रगोलको अवस्था सिर्जना गर्न लागिरहेका छौँ । जसले गर्दा हिजो राजनीतिक दलको नेतृत्वमा ताप्केमा रहेका धराने जनता आज हर्क साम्पाङको नेतृत्वमा भुङ्ग्रोमा पर्ने खतरा पनि नेपथ्यमा देखिँदैछ । तसर्थ वर्तमान धरान नगरप्रमुख साम्पाङले आफूमा सामान्य परिवर्तन गर्दै धरानमा को कुन दलको भनेर प्रश्न गर्नुभन्दा सबैलाई समेटेर अन्य नगरले पाँच वर्षमा गरेको विकास एक वर्षमा गर्ने गरी अघि बढ्नु पर्छ । अनिमात्र हामी पूर्वका अन्य इटहरी, विराटनगर, दमक, बिर्तामोडजस्ता नगरको दाँजोमा अघि बढ्न सक्छौँ र हामी धरानेले विगतका निर्वाचनमा जस्तो स्थानीय तह निर्वाचन २०७९ मा हर्क साम्पाङलाई मतदान गरेर अर्को रङ नम्बर डायल गरेका रहेनछौँ भन्ने प्रमाणित हुनेछ ।