निर्वाचित हुनुअघिसम्म हर्क साम्पाङ सडकदेखि सरकारी अड्डामा भेटिन्थे अभियन्ता हुँदा । म पनि सडकमा नै हुन्थेँ । भूईं मान्छेका कथा, आवाजविहीनहरूका आवाज लेख्न, सत्ता विकृति, विसङ्गतिप्रति खबरदारी गर्न । वर्तमान धरान नगरप्रमुख साम्पाङ पनि विकृति, विसङ्गति र आवाजविहीनहरूका सारथि बनेर सडकमा देखिन्थे । सडकमा हाम्रो भेट हुन्थ्यो । वर्षदिनअघि नगरप्रमुख साम्पाङको आधिकारिक नाम मलाई थाहा थिएन । उनी हर्क साम्पाङ लेख्थे, म पनि सामाजिक अभियन्ता हर्क साम्पाङ भनेर समाचारमा लेख्थेँ । सडकमा भेट हुँदा सडकमा नै कुरा हुन्थ्यो । सडकमा भेट नहुँदा फोनमार्फत् भेट हुन्थ्यो । कहिले अफिसको फोन नम्बरबाट त, कहिले व्यक्तिगत मोबाइल नम्बरबाट सम्पर्क हुन्थ्यो र भन्थेँ, ‘नमस्कार हर्क सर म खिलानाथ विक ब्लाष्ट दैनिकबाट । उनको जवाफ हुन्थ्यो, ‘चिनिसकेँ भन्नु त खिलाजी ।’ खानेपानीका समस्याका विषयमा प्रश्न गर्थे उनी, जवाफ दिन्थे र हामी विच्छेद हुन्थ्यौँ । २०७४ सालको निर्वाचनमा साम्पाङ स्वतन्त्र उम्मेदवार बने । मतपरिणाम आउँदा उनको जमानत जफत नै भयो । उनी त्यसपछि निरन्तर अभियन्ताका रूपमा नै रहे । खानेपानीलगायतका अनियमित बिल भरपाइ झोला र मोबाइलमा बोकेर हिँड्थे अनि मलगायतका पत्रकारलाई दिन्थे । तर, उनका पछाडि अहिलेका युट्युबेहरू कोही थिएनन् । सीमित पत्रकार हुन्थे । त्यही पनि कतिले समाचार लेख्थे । कतिले लेख्दैनथे । म समय अनुकूलताका आधारमा बिल भर्पाइको विश्वसनीयता परीक्षण गरेर आवश्यकताअनुसार प्रयोेग गरेर समाचार लेख्थेँ । उनको अभियानको प्रमुख मुद्दा खानेपानी थियो । उनको मुद्दालाई म कार्यरत सञ्चारमाध्यममा धेरै पटक मूल मुद्दाका रूपमा समाचार लेखेँ । अभियन्ता हर्क साम्पाङको परिचय २०७९ को स्थानीय तहको निर्वाचनसँगै फेरिएको छ । म श्रमजीवी पत्रकार हिजो उनीसँग सडकमा थिएँ, आज पनि सडकमा नै छु आवाजविहीनहरूका आवाज बुलन्द गर्न र मेरो परिचय त्यही छ । अभियन्ता हर्क साम्पाङ, नगरप्रमुख हर्कराज भएका छन् । अहिले सडकका राई सत्तामा पुगे । उनको भूमिका फेरिएको छ । अहिले हाम्रो चिनजान खासै छैन । मलाई थाहा छ, सत्ता कुर्सी निर्मम अनि कठोर हुन्छ । त्यसैले पनि चिन्दैनन् । उनी परिचय सोध्छन्; मैले पत्रकारको नाममा मिडिया हाउससहित धेरै पटक परिचय दिएर प्रश्न गरेको छु । तर, धरानमा अहिले प्रश्न गर्दा भ्युज घट्ने त्रासले धेरै न्युज मरिरहेका छन् । तर, मैले प्रश्न गर्न छाडेको छैन । किनकि पत्रकारको काम नै कुनै विषयवस्तुमा रहेर प्रश्न गर्ने हो, आधिकारिकता खोतल्ने र समाचार लेख्ने हो । हिजो उनी अभियन्ता हुँदा उनका मुद्दाको प्रश्न सत्तालाई सोध्थे । आज उनै राई जवाफ दिने स्थानमा छन् । त्यसैले उनलाई प्रश्न गर्छु । तर, उनी आफू अनुकूलबाहेकका प्रश्नको जवाफ दिन तयार छैनन् । उनी अनुत्तरित बनेपछि प्रश्नलाई विषयान्तर गर्ने, जवाफ नदिने र प्रश्न मन नपरे पत्रकारलाई अनावश्यक प्रतिप्रश्न गर्ने गर्छन् । फोन उठाउँदैनन्, उठाए पनि परिचय दिएपछि काट्छन् । नगरप्रमुखमा पदासिन भएको एक वर्ष बितेको छ । यस अवधिमा गर्न सकिने कामको आधारमा धरान नगरप्रमुख राईलाई लेखमार्फत् प्रश्न गर्दै छु । सुरुमा, प्रमुख राईको प्रमुख मुद्दा खानेपानी भएकाले एसियाली विकास बैङ्कको ऋण, अनुदानमा सञ्चालित खानेपानी परियोजनाबाटै प्रश्न सुरु गरौँः
१. खानेपानी परियोजनाको भ्रष्टाचार र भ्रष्टाचारीको नाम कहिले सार्वजनिक गर्ने ?
नगरप्रमुख राई अभियानमा हुँदा एडिबी परियोजनामा व्याप्त भ्रष्टाचार भएकाले असफल भयो । म निर्वाचित भए भ्रष्टाचारीलाई कारबाही गर्छु भन्थे । नगरपालिका कारबाही गर्ने निकाय नभएकाले सत्यतथ्य रूपमा भ्रष्टाचारबारे प्रमाणित गरेर सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गर्न सकिन्छ । त्यसैले खानेपानी परियोजनामा कति, कसले र कहाँ कहाँ भ्रष्टाचार भएछ ? वर्षदिनसम्म किन सार्वजनिक भएन ?
२. खानेपानीको महसुल कहिले घटाउने ?
आफू अभियानमा हुँदा नगरप्रमुख राई खानेपानीको महसुल घटाउने मात्र होइन, शून्य बनाउन माग गर्दै आन्दोलन गर्थे । अहिले उनी निर्वाचित भएको एक वर्ष बढी भएको छ । महसुल शून्य त के घटाउने चेष्टा पनि गरेका छैनन् । सत्तामा हुँदा आफ्ना मुद्दा कार्यान्वयन गर्नु पर्दैन ? अब यसमा जवाफ होला– एडिबीको ऋण छ । आन्दोलनमा हुँदा चाहिँ ऋण थियो भन्ने उनलाई हेक्का थिएन ? ऋण त उनी सडक र अरू सत्तामा हुँदा पनि थियो नि ।
३. पहिलेका गुणस्तरहीन पाइप, अहिले गुणस्तरीय कसरी भए ?
नगरप्रमुख राई एडिबीबाट सञ्चालित खानेपानी परियोजनामा प्रयोग भएका पाइप गुणस्तरहीन भएको भन्दै आन्दोलन गर्थे । कतिपय अवस्थामा नगरप्रमुख राईकै कारणले पाइलाइन विस्तार गर्न ढिलाइ भएको भनेर पनि तत्कालीन नेतृत्वले आरोप लगाउने गरेको थियो । जमिनमुनी गाडेर प्रयोग गरिएका गुणस्तरहीन हुने पाइप अहिले डाँडापाखामा बेवारिसे तरिकाले प्रयोग गर्दा चाहिँ कसरी गुणस्तरीय भए ? कि आफूले गर्दा सबै ठीक र अरूले गर्दा सबै बेठीक ?
४. संस्थानको काउन्टर पुनस्र्थापना कहिले ?
नगरप्रमुख राईको अर्को महत्वपूर्ण मुद्दा हो नेपाल खानेपानी संस्थानलाई धरान खानेपानी व्यवस्थापन बोर्डमा गाभ्न नहुने । तर, निर्वाचित भएको वर्षदिन बढी हुँदा पनि संस्थानको काउन्टर ल्याउने प्रयत्न गर्नु पर्दैन ?
५. बोर्डका निर्देशकलाई कारबाही खोइ ?
अभियानमा हुँदा खानेपानी बोर्डका निर्देशक राजु पोखरेललाई निम्न स्तरका शब्द प्रयोग गरेर सबैभन्दा खत्तम भएको बताउँथे । त्यस्तो खत्तम मान्छेलाई कारबाही गर्नुपर्ने वा हटाएर अर्को निर्देशक ल्याउनु पर्ने होइन आफू अध्यक्ष हुँदा ?
६. हालसम्म मुद्दा कतिवटा लागे ? त्यसको विस्तृत जानकारी किन सार्वजनिक नगर्ने ?
नगरप्रमुख राईले मुद्दैमुद्दा लागेको भन्दै गीत नै गाए । तर, उनीविरुद्ध अदालतमा हालसम्म तीनवटा मुद्दा दर्ता भएको जानकारी प्राप्त छ । एउटा, साबुन उद्योग खोल्ने जग्गा प्राप्ति नगरी काम सुरु गरेपछि वन कार्यालयले दर्ता गरेको मुद्दा । उक्त मुद्दा फैसला भइसकेको छ । दोस्रो, व्यक्तिगत जग्गामा वृक्षरोपणविरुद्ध रोशन अधिकारीले लगाएको मुद्दा । त्यसमा अदालतले हाल व्यक्तिगत जग्गामा वृक्षरोपण नगर्न अदालतले अन्तरिम आदेश दिइसकेको छ । तेस्रो, खानेपानी बोर्डको बैठक राख्न माग गरिएको मुद्दा । यीबाहेक अरू कुन कुन शीर्षकका कति मुद्दा लागे ? सार्वजनिक किन नगर्ने ? गीत मात्रै गाएर भ्रम फिँजाउने कि वास्तविकता पनि सार्वजनिक गर्ने ?
७. नगरपालिकाका अनावश्यक कर्मचारी कहिले हटाउने ?
अनावश्यक कर्मचारी हटाउने नगरप्रमुख राईको घोषणा पत्रमा नै थियो । धरान नगरमा पूर्व जनप्रतिनिधि तथा बुद्धिजीवीहरू धेरै कर्मचारी भएको बताइरहेका छन् । यस्तो अवस्थामा नगरका कर्मचारी हटाउनु पर्ने होइन ? घोषणा–पत्रका प्रतिबद्धता बिर्सिएको हो ?
८. अभिव्यक्ति स्वतन्त्रता नगरप्रमुखलाई मात्रै ?
सडकमा आन्दोलन गर्दा नगरप्रमुख राई अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गर्थे र मुद्दा पनि उठाउँथे । तर, उनी नगरप्रमुखमा निर्वाचित भएपछि अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्दै आएका छन् । त्यसका लागि धरान–११ का सन्तोष लिम्बूलाई बोलेकै आधारमा पक्राउ गरेर प्रहरी कार्यालय पु¥याएको घटनालाई हेर्दा हुन्छ । के प्रमुख राईलाई मात्रै हो, अभिव्यक्ति स्वतन्त्रता ? कि आमनागरिकलाई पनि हो ?
९. वराह सहकारी पीडितप्रति किन उदासीन ?
अभियानमा हुँदा वराह सहकारी पीडितका सारथि बन्न पुग्थे नगरप्रमुख राई र भन्थे म निर्वाचित भए न्याय दिलाउँछु । तर, निर्वाचित भएको यतिका समय हुँदा किन न्याय दिन उदासिनता ? सहकारीसम्बन्धी समस्याहरू निरूपण गर्ने अधिकार ऐनले स्थानीय तहलाई दिएको छ । धरानका सहकारी सञ्चालकलाई कारबाही गरी पीडितलाई न्याय दिन के ले रोकेको छ ?
१०. सरकार प्रमुख जनताप्रति उत्तरदायी बन्नु पर्दैन ?
संविधानमा राज्य वा सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था छ । अर्थात् सरकार लोककल्याणकारी हुनुपर्दछ । तर, नगरप्रमुख राईले सेवा लिन आएका नागरिकलाई धरपकड गरे । त्यो एकपटक होइन, पटक पटक । के सरकार प्रमुख नागरिकप्रति उत्तरदायी बन्नु पर्दैन ?
११. धरान कहिले छाड्ने ?
नगरप्रमुख राईको निर्वाचनअघिको प्रतिबद्धता थियो, भ्रष्टाचार गरे धरान छाड्ने । उनी भन्थे, भ्रष्टाचारकै कारणले मुलुक धरासायी बन्यो । ठीकै हो, नेपालमा नीतिगत भ्रष्टाचार व्याप्त छ । नीतिगत भ्रष्टाचारका कारणले नै मुलुक बिग्रिएको सत्य कुरा हो । तर, नगरप्रमुख राई त्यो नीतिगत भ्रष्टाचारदेखि अछुतो छन् त ? विना प्रक्रिया दर्जनौँ कर्मचारी नियुक्त गर्नु नीतिगत भ्रष्टाचार हो कि होइन ? त्यो पनि आफन्तदेखि समर्थकसम्म । नगरप्रमुख राई आफ्नो मुद्दामा अडिग हो भने धरान बस्ने नैतिक अधिकार छ ?
१२. अन्त्यमा, स्वास्थ्य सङ्कटकाल घोषणा किन नगर्ने ?
जिल्ला विपद् व्यवस्थापन समितिले धरानमा डेङ्गु अत्यधिक बढेकाले स्वास्थ्यको सङ्कटकाल घोषणा गर्न प्रदेश र सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । डेङ्गुका कारणले धरानमा १२ जनाको मृत्यु भइसकेको नगरको स्वास्थ्य महाशाखाले तथ्याङ्क सार्वजनिक गर्छ । नगरप्रमुख राई महाशाखाको तथ्याङ्कलाई मिथ्याङ्क बनाउँदै भन्छन्, अरू दीर्घरोगका कारणले मरे, डेङ्गुले दुई जना मात्रै मरेका हुन् । के वास्तविक तथ्याङ्क दिनुपर्दैन ? एकरूपता हुनु पर्दैन ? नागरिकलाई किन भ्रम छर्ने ? डेङ्गु भयावहरूपमा फैलिरहेको बेलामा नियन्त्रणका लागि स्वास्थ्य सङ्कटकाल घोषणा गर्न केले रोकेको छ ?