कोशी प्रदेशमा असंवैधानिक ढंगले प्रदेश नियमावली र संविधानका धारालाई छलेर नियुक्त गरिएको मुख्यमन्त्रीको पक्षमा लिइएको विश्वासको मतका विरुद्ध अदालत जाने नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताएका छन् ।
संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेकाले आफैं मुद्दा लिएर अदालत जाने नेता कार्कीले बताए ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभामा बोल्दै नेता कार्कीले एमालेसग अर्को विकल्प नभएको बताए ।

'प्रदेश नियामावली र सविधानका कुरालाई छलेर जाने ठाउँ छैन, त्यसका विरुद्द हामी कोर्ट जान्छौ, हामीसग अर्को विकल्प छैन ।' नेता कार्कीले भने ।

नेता कार्कीले पहिचानवादीहरुले आफ्ना माग राख्न र मुद्दा स्थापित गर्न राजनीतिक दल निर्माण गरी आउने कुरा ठीक भए पनि मूलधारका पार्टीका नेताले जातीय द्वन्द्व मच्चाउने र त्यसलाई उचालेर सिंहासन जोगाउने खेल खेल्नु निन्दनीय भएको  बताए ।

'यो कसरी आइरहेको छ?, कुन शक्ति केन्द्रको उक्साहटमा भइरहेको छ सचेत हुनुपर्छ', नेता कार्कीले भने,'राष्ट्रिय अखण्डता, मुलुकको सार्वभौम सत्ताविरुद्ध लाग्न खोजिएको त छैन?'