विजयपुर । धरान उपमहानगरपालिकाले स्वास्थ्यजस्तो आधारभूत क्षेत्रमा एकै पटक १४ सय रुपैयाँ (चार अङ्क) कर वृद्धि गरेको छ । नगरको राजस्व परिचालन समितिमा औषधिजन्य व्यवसायमा यो अनुपातमा वृद्धि गर्ने विषयमा छलफल नभए पनि ह्वात्तै कर बढेको सम्बन्धित व्यवसायीहरू बताउँछन् ।
धरान नगरप्रमुख हर्कराज राईको निर्वाचनमा सार्वजनिक गरेको २७ बुँदे प्रतिबद्धता–पत्रको बुँदा नम्बर २२ मा वैज्ञानिक कर प्रणाली उल्लेख गरिएको थियो । उनको प्रतिबद्धता– पत्रमा ‘व्यवसायी, सरकार र उपभोक्ता सबैलाई भार नपर्ने गरी सन्तुलित कर प्रणाली लागू गर्ने’ उल्लेख गरेका थिए । तर, उनै प्रमुख राईले आफ्ना प्रतिबद्धता भुल्दै स्वास्थ्यजस्तो आधारभूत शीर्षकमा एक हजार ४ सय रुपैयाँले कर बढाइएको छ । धरान उपमहानगरको राजस्व महाशाखाको तथ्याङ्कअनुसार अल्ट्रासाउण्ड, इण्डोस्कोपीसहित क्लिनिक, पोलिक्लिनिकमा एक हजार ४ सय रुपैयाँ एकैपटक वृद्धि गरिएको छ । यसअघि ६ हजार ६ सय रुपैयाँ कर लिइँदै आएको थियो ।
यसले राजस्व परामर्श समितिका संयोजकसमेत रहेका धरान उपप्रमुख अइन्द्रविक्रम बेघाको नारा ‘करको दर होइन, दायरा वृद्धि’ गर्ने नारामाथि नै कुरीकुरी गरेको छ । स्वास्थ्य क्लिनिकमा यसअघि ५ हजार रुपैयाँ तिर्दै आएकाको हकमा ६ हजार रुपैयाँ पुर्याइएको छ भने ४ हजार ३० रुपैयाँ तिर्दै आएकाको हकमा भने ४ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । त्यस्तै औषधि थोक तथा डिष्ट्रिब्युटर वा स्टकिष्ट वा संयुक्तमा ८ हजार ३ सय रुपैयाँ तिर्दै आएकाको हकमा १० हजार पुर्याइएको छ भने ५ हजार ८ सय ७० रुपैयाँ तिर्दै आएकाको हकमा १० हजार पुर्याइएको छ । औषधिको खुद्रा पसलमा ३ हजार ३ सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँ पुर्याइएको छ भने २ हजार ४ सय २० रुपैयाँ तिर्दै आएकाहरूले अबदेखि ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
आयुर्वेदिक तथा होमियोपेथी औषधि पसलमा १ हजार ८ सय रुपैयाँ तिर्नेहरूले अब २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ भने १ हजार ७ सय ३० रुपैयाँ तिर्नेले २ हजार रुपैयाँ तिर्नुपर्ने राजस्व महाशाखाको तथ्याङ्कमा उल्लेख छ । पशु औषधि पसलको हकमा २ हजार २ सय रुपैयाँ तिर्दै आएकाले अब ३ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै १ हजार १ सय ५० रुपैयाँ तिर्नेले १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । प्याथोलोजी ल्यावमा ३ हजार ३ सय रुपैयाँ तिर्दै आएकाले अब ४ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यस्तै २ हजार ३ सय रुपैयाँ तिर्नेहरूले अब ३ हजार रुपैयाँ तिर्नु पर्नेछ । डेन्टल हाउसको हकमा भने ५ हजार ५ सय रुपैयाँ नै कायम गरिएको छ । ४ हजार ६ सय रुपैयाँ तिर्दै आएकाले भने ५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । डेण्टल अस्पतालमा ५ हजार ५ सय रुपैयाँबाट वृद्धि गरी ७ हजार ५ सय रुपैयाँ पु¥याइएको छ भने ४ हजार ६ सय रुपैयाँबाट वृद्धि गरी ७ हजार ५ सय पु¥याइएको छ । आँखा क्लिनिकसहितको चस्मा पसलमा ३ हजार ९ सय रुपैयाँबाट ४ हजार ५ सय रुपैयाँ पुर्याइएको छ भने ३ हजार ४ सय ५० रुपैयाँबाट ४ हजार ५ सय पु¥याइएको छ । चस्मा पसलमा २ हजार ८ सय रुपैयाँबाट वृद्धि गरी ३ हजार पुर्याइएको छ भने २ हजार ३ सयबाट वृद्धि गरी ३ हजार रुपैयाँ पुर्याइएको छ ।
अस्पतालजन्य उपकरण वा सामग्री बिक्री पसलमा ५ हजार ५ सय रुपैयाँ र ५ हजार २ सय ९० रुपैयाँ तिर्दै आएकाहरूले अब भने ७ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । औषधि व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष रविन्द्र घिमिरेले विभिन्न स्थानीय तहमा कर वृद्धि भइरहेकाले त्यस विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘कर वृद्धि गरेको कुरो आइरहेको छ । पहिलो चरणमा वार्ता गर्छौं । न्यायोचित निर्णय नभएमा सङ्घर्षमा जान्छौँ तर, अहिले छलफलमा छौँ ।’ सुर्तीजन्य वस्तुको डिलर वा सप्लायर वा थोकमा ८ हजार ३ सय रुपैयाँबाट वृद्धि गरी १२ हजार बनाइएको छ । सुर्तीजन्य वस्तुको डिलर वा सप्लायर वा थोकमा यसअघि ८ हजार रुपैयाँ तिर्दै आएको हकमा वृद्धि गरी १० हजार रुपैयाँ बनाइएको छ । सुर्तीजन्य वस्तुको खुद्रा व्यापारमा अघिल्लो आर्थिक वर्षमा २ हजार २ सय रुपैयाँ भएकोमा चालु आर्थिक वर्षमा ३ हजार पुर्याइएको छ भने १ हजार ७ सय ३० रुपैयाँ तिर्नेले २ हजार रुपैयाँ तिर्नु पर्नेछ ।
किराना खुद्रा पसलसँगै सुर्तीजन्य वस्तुको व्यापार गरेमा थप १ हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ । बिमा कम्पनीको शाखामा १२ हजार ५ सय रुपैयाँबाट वृद्धि गरी १५ हजार रुपैयाँ पुर्याइएको छ भने ११ हजार ५ सय रुपैयाँ तिर्दै आएकाको हकमा पनि १५ हजार रुपैयाँ नै पुर्याइएको छ । बैङ्क तथा वित्तीय संस्था (क) वर्गको शाखालाई ३५ हजार रुपैयाँ तिर्दै आएकाहरूले ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । सुपर मार्केट वा डिपार्टमेन्टल स्टोरप्रति आउटलेट एक हजार रुपैयाँ कर लगाइएको छ । लाउन्ज एण्ड बारको हकमा ३५ हजार रुपैयाँ कर लाग्ने भएको छ । नगरले मुख्य ४ शीर्षकमा स्वास्थ्य, सुर्तीजन्य पदार्थ, सागसब्जी तथा फलफूल र वित्तीय संस्थामा चार अङ्कसम्मले वृद्धि गरेको छ । यता धरान उपप्रमुख अइन्द्रविक्रम बेघाले कर वृद्धि नगरी दायरा वृद्धि गर्न लागेको बताए । उनले भने, ‘कर वृद्धि भएको छैन । कसले के भन्यो म जान्दिनँ, हामी कर वृद्धि होइन, दायरा बढाउँछौँ ।’
एकीकृत सम्पत्ति करको हकमा पाँच सय रुपैयाँभन्दा माथि कर लाग्ने भएमा १० प्रतिशतका दरले थप हुने राजस्व महाशाखा प्रमुख खगेन्द्रप्रसाद खतिवडाले बताए । राजस्व परामर्श समितिका सदस्यसमेत रहेका सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले स्वास्थ्य र सुर्तीजन्य शीर्षकमा कर वृद्धि गर्ने निर्णय गरे पनि अन्य शीर्षकमा वृद्धि गर्ने निर्णय नभएको बताए । श्रेष्ठले भने, ‘अन्य शीर्षकमा बढाउने निर्णय भएको छ भने बुझ्छौँ ।’
तर, राजस्व महाशाखाको तथ्याङ्कअनुसार फलफूल डिलरमा ३ हजार ३ सय रुपैयाँबाट वृद्धि गरी ४ हजार रुपैयाँ पुर्याइएको छ भने २ हजार ८ सय ८० रुपैयाँ तिर्दै आएकाको हकमा ३ हजार ५ सय पुर्याइएको छ । सागसब्जी, गेडागुडी आदिको डिलरमा ३ हजार ३ सय रुपैयाँबाट वृद्धि गरी ४ हजार रुपैयाँ पुर्याइएको छ भने २ हजार ८ सय ८० रुपैयाँ तिर्नेले अब भने ३ हजार ५ सय रुपैयाँ पु¥याइएको छ । यस विषयमा परामर्श समितिका सदस्यहरू नै अनभिज्ञ देखिएका छन् ।