धरान उपमहानगरपालिकाबाट स्वीकृति लिएको भन्दै पूर्वाधार सडक उपभोग शुल्कका नाममा व्यवसायीसँग जबरजस्ती असुली भएको व्यावसायिक संघहरुले गुनासो गरेका छन् ।
धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गरी सामान डेलिभरी गर्न आवातजावात गर्ने क्रममा व्यवसायीलाई पाथिभरा निर्माण सेवा इटहरी–१६ का कर्मचारीले अभद्र व्यवहार गरी पूर्वाधार सडक उपभोग शुल्कका नाममा दैनिक प्रति सवारी ६५ रुपैयाँ जबरजस्ती गुण्डागर्दी शैलीमा असुली गर्ने गरेको भन्दै धरान नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)लाई उद्योगी व्यवसायीले ध्यानाकर्षणपत्र बुझाएका छन् ।
व्यवसायीले कानुनविपरित जबरजस्ती असुली गर्ने भइरहेमा व्यवसाय बन्द गर्नुपर्ने अवस्था हुन सक्ने र सबै व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी ताला–चाबी बुझाउन बाध्य हुने धरान नगर प्रमुखलाई चेतावनीसमेत दिएका छन् ।
धरान वितरक संघ, धरान मदिरा व्यवसायी संघ, स्थानीय भवन निर्माण व्यवसायी संघ, धरान हार्डवेयर व्यवसायी संघ, सुनसरी मुद्रक व्यवसायी संघ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघलगायत ६ व्यवसायिक संगठनले असुलीप्रति आपत्ति जनाएका हुन् ।
‘उनीहरुका व्यवहार मर्यादित छैन साथै गुण्डागर्दी शैलीमा समेत असुली गर्ने गरेका छन् । यसरी व्यवसाय कर, बहाल कर, लगायतका सबै करहरु भुक्तानी गरी आफ्नो सम्पती लगानी गरेर व्यवसाय गर्दा समेत दैनिक रूपमा अमर्यादित, गुण्डागर्दी एवम जवरजस्ती शैलीमा दैनिक रुपमा सावारी साधनबाट रकम असुली गर्ने गरेका क्रियाकलाप प्रति हामी सबैको आपक्ति रहेको छ ।’ व्यवसायीले ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् ।
व्यवसायीले नेपाल सरकारले तोकेको मापडण्डभित्र रही स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारका सबै करहरु भुक्तानी गरेको दाबी गरेका छन् । व्यवसायी संगठनले आफ्नो लगानीलाई जोखिममा राखी व्यवसाय संचालन गर्दा समेत अमर्यादित तथा जबरजस्ती व्यवहारको सामना गर्नुपर्ने अवस्था रहेको भन्दै आपक्ति जनाएका छन् ।
‘स्थानीय सरकारको रुपमा रहेको धरान उप–महानगरपालिकाले सम्बन्धित सबै पक्षलाई बोलाई यस प्रकारका क्रियाकलाप तुरुन्त बन्द गर्न निर्देशन दिइयोस्, यसरी जबरजस्ती विभिन्न बहानामा रकम असुली गर्ने कार्य तुरुन्त रोकियोस् भन्ने हाम्रो अनुरोध छ ।’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।