नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो । 

बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरे । मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।

त्यसक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधानविपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैर–संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए ।

त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो । 

आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।