कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर–संवैधानिक रुपमा विश्वासको मत प्राप्त गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । प्रदेश प्रमुख, मुख्यमन्त्रीसहित ५ प्रत्यर्थीविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । 

नेता कार्कीका वारेस दुर्गाबहादुर दाहालमार्फत् सर्वोच्चमा नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाऊँ भनी मुद्दा दायर गरिएको छ । 

प्रदेश प्रमुख पर्र्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, बैठक अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी, सांसद गीता तिम्सिना र कोशी प्रदेश सचिवालयविरुद्ध मुद्दा दायर गरिको छ ।  

कोशी प्रदेश सरकारविरुद्ध रिट लिएर नेकपा एमाले सर्वोच्च अदालत पुगेको हो । प्रदेश सरकारविरुद्ध एमाले संसदीय दलका कार्कीले लगेको रिट सर्वोच्चको  दर्ता प्रक्रियामा छ । दर्ता प्रक्रिया सकिएसँगै सर्वोच्च प्रशासनले पेसी मिति तोक्नेछ ।

यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार पनि सर्वोच्चकै आदेशमा ढलेको थियो । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटअनुसार सर्वोच्चले आदेश जारी गरिदिएपछि सरकार ढलेको थियो ।

त्यसको सात दिनमा सभामुुखले राजीनामा दिएर पुनः थापाकै नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखले राजीनामा दिएसँगै उपसभामुख सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागि गत सोमबारका लागि बोलाएको बैठकमा उपसभामुख दनुवार अनुपस्थित भएकी थिइन् । बैठक स्थगित नगरी उनले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यक्षमण्डलका सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गर्ने र विश्वासको मत लिने कार्यसूची अघि बढाउने निर्णय गरेको थियो ।

एमालेका तर्फबाट सांसद निर्वाचित भएर उपसभामुखको जिम्मेवारीमा रहेकी दनुवारले सरकारलाई असहयोग गरेको निष्कर्ष निकालेको सत्ता गठबन्धनले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीको अध्यक्षतामा बैठक सञ्चालन गरेका थियो । तर, अध्यक्षता गरेका मन्सुरीसमेतको मतमा ४७ मत पुर्याएका मुख्यमन्त्रीविरुद्ध रिट लिएर फेरि एमाले संसदीय दलका नेता कार्की अदालत पुगेका हुन् ।

रिट निवेदन दर्ताको क्रममा रहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।