सामाजिक सञ्जाल यतिबेला धरानको विषयले तात्तिएको छ । गोरुको मासु खाएको दृश्यात्मक सामग्रीका विषयमा सद्भाव बिथोल्ने किसिमका हर्कतहरू भइरहेका छन् । एक प्रकारले भन्ने हो भने अतिवादीहरूको नश्लीय चिन्तनहरू सार्वजनिक भइरहेका छन् । यो एउटा तह र तप्काबाट मात्रै भइरहेको छैन । यसले शदिऔँदेखिको सामाजिक विविधतालाई बिथोल्ने प्रयास गरिरहेको छ । बहुरङ्गी नेपाल, जातीय विविधताले सिँगारिएको मुलुकमाथि अनिष्ट हुने सङ्केत देखिँदै छ । सामाजिक सञ्जालमा एउटा पक्षले अर्को पक्षमाथि गम्भीर आरोप लगाउने उपक्रमहरू चलिरहेका छन् । यो उपक्रमले एउटा पक्षमाथि सङ्गीन आरोप लगाउने र अर्को पक्ष चोखिने स्थिति बन्दै आएको छ । त्यति मात्रै नभई धरानमा भदौ ९ गते एउटा पक्षले धरानलाई चोख्याउने भन्दै स्टाटस पोष्ट गरिरहेको छ । यो धार्मिक अतिवाद हो । यहाँ सबै पक्ष संयमित हुन आवश्यक देखिँदै छ । हामीले धार्मिक द्वन्द्व, हिंसाहरू सुन्दै र देख्दै आइरहेका छौँ । त्यस्तै प्रकृतिको द्वन्द्व र हिंसाको वीजारोपण हुने सङ्केत देखिएको छ । त्यसकारण बहुल पक्ष संयमित बन्नुपर्ने अवस्था आएको छ । सामाजिक सञ्जालमा जसरी आरोप प्रत्यारोपका शृङ्खलाहरू बढेका छन् । यसले कसैलाई हित गर्दैन । हेर्दा धर्म, संस्कृतिसँग जोडिएको विषयजस्तो लागे पनि यो विल्कुल राजनीतिक विषय हो । त्यसकारण यसलाई टुङ्ग्याउनका लागि पनि समाजका अगुवा, राजनीतिक दल, धरान उपमहानगरपालिकामा बढी संवेदनशील बन्नुपर्ने देखिएको छ ।
नेतृत्वले आजको परिस्थिति बुझेर अगाडि बढ्नु पर्ने देखिँदै गएको छ । विगतमा हामीले ठूल्ठूला अतिवादबाट द्वन्द्वको वीजारोपण भएका देखेका छौँ । त्यस्ता हिंसाले अन्ततः हामी सबैलाई तहसनहस बनाउँछ । यहाँ फरक धर्म, फरक सम्प्रदाय, फरक संस्कार र संस्कृतिका मानिसहरूको साझा थलो हो । एकले अर्कालाई निषेध गरेर गएको आजसम्म थाहा छैन । तर, यतिबेला जुन किसिमका अभिव्यक्ति र पोष्टहरू आइरहेका छन् । त्यसले अनिष्टको सङ्केत गरिरहेको छ । यो अनिष्टको वीजारोपण कसले र कुन पक्षले ग¥यो भन्नेभन्दा पनि यस्तो परिस्थिति निर्माण हुन नदिन सबैभन्दा बढी धरान उपमहानगरपालिकाको नेतृत्वले गर्नुपर्ने देखिएको छ । धरानमा केही समययता सामाजिक सद्भाव, धार्मिक सहिष्णुता खलल हुँदै गएको स्थिति छ । त्यसलाई निमिट्यान्न पार्ने पहिलो दायित्व पनि धरान उपमहानगरपालिकाकै हो । धरानको भूगोलमा आज जुन खालको अनिष्टताको सङ्केत देखिएको छ । भोलि कथंकदाचित माहौल बिग्रियो भने सबैभन्दा बढी नेतृत्वलाई दोष जाने देखिन्छ । त्यो हुन नदिनका लागि दुवै पक्षलाई संयमित हुने वातावरण सिर्जना गर्नु आजको नगरको दायित्व हो । त्योसँगै यहाँका राजनीतिक दलहरू, सामाजिक अगुवाहरू, बुद्धिजीवीहरू, विद्वान्हरूले भूमिका खेल्नै पर्छ । नत्र भोलि हुने अनिष्टताको जिम्मेवारी कुनै न कुनै रूपमा सबैले लिनै पर्छ ।
सामाजिक सञ्जालमा जुन मनोवृत्तिको विकास भइरहेको छ, त्यसको जड पत्ता लगाउन आवश्यक छ । के समस्या आजबाट मात्रै सुरुवात भएको हो त ? यसका पछाडिका कारणहरूको खोजी सूक्ष्म तरिकाले अध्ययन गर्न आवश्यक छ । शदिऔँदेखि कायम रहेको सद्भावलाई उस्तै राख्नका लागि हामी सबैको भूमिका उत्तिकै अपरिहार्य छ । कसैले पनि हिंसा भड्किने र द्वन्द्व चर्किने खालका अभिव्यक्तिहरू दिनु हुँदैन । कानूनतः पनि त्यस्ता अभिव्यक्तिहरू वर्जित छन् । संविधान र संविधान मातहत रहेर बनेका कानूनहरूको पूर्ण परिपालना गर्नु सबै नेपालीको दायित्व हो । हामीले आ–आफ्नो ठाउँबाट कर्तव्यलाई भुल्नु हुँदैन । क्षणिक आवेशमा आएर हुने गम्भीर गल्तीहरूले अन्ततः सबैलाई क्षति पु¥याउँछ । त्यो क्षतिको भर्पाइ फुर्सदमा बसेर पछुताउनुभन्दा अर्को विकल्प नहुन सक्छ । बेलैमा सबैजना सचेत भएर फेसबुकमा उठिरहेको समस्यालाई निराकरण गर्नेतर्फ पाइला चाल्नु नै उत्तम हुनेछ । अन्यथा हामी ढिला हुनेछौँ । कुनै पनि धार्मिक अतिवादलाई प्रश्रय दिनुहुँदैन । सांस्कृतिक सद्भाव कायम राख्ने जिम्मेवारी हामी सबैको हो । त्यसमा सबै पक्ष गम्भीर भएर लाग्नु नै उत्तम हुन्छ । दुवै पक्षलाई ‘विन विन’ को वातावरण बनाउने जिम्मेवारी पाएकाहरूले आफ्नो जिम्मेवारीलाई सामान्य रूपमा नलिऔँ । गम्भीर भएर समस्याको हल गर्नेतर्फ लागौँ । यो नै आजको आवश्यकता र भोलिको भविष्य पनि ।