कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर–संवैधानिक रुपमा विश्वासको मत प्राप्त गरेको भन्दै सर्वोच्च अदालतमा दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । 

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर रिट ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

कोशी सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

प्रदेश प्रमुख, मुख्यमन्त्रीसहित ५ प्रत्यर्थीविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नेता कार्कीका वारेस दुर्गाबहादुर दाहालमार्फत् सर्वोच्चमा नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाऊँ भनी मुद्दा दायर गरिएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ । यसरी प्राप्त गरेको विश्वासको मत गैर संवैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो ।

यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार पनि सर्वोच्चकै आदेशमा ढलेको थियो । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटअनुसार सर्वोच्चले आदेश जारी गरिदिएपछि सरकार ढलेको थियो । त्यसको सात दिनमा सभामुुखले राजीनामा दिएर पुनः थापाकै नेतृत्वमा सरकार गठन भएको थियो । तर, विश्वासको मत लिने बेला पुनः सभाध्यक्षको मत लिएपछि एमाले फेरि सर्वोच्च पुगेको छ ।