पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाका निवर्तमान वडाध्यक्ष यामबहादुर बोहोराले जन्मदिनको अवसरमा विद्यार्थीलाई झोला(स्कुल ब्याग) वितरण गरेका छन् । बोहोराले ६२ औं जन्मदिनको अवसरमा कुम्मायक गाउँपालिकाको वडा नं. ५ स्थित हिमालय र देउराली आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरूलाई स्कुल ब्याग (झोला) वितरण गरेका हुन् ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले हिमालयका २५ जना र देउराली आधारभूत विद्यालयका १५ गरी ४० जना विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेका थिए । हिमालय आधारभूतका कक्षा १ देखि ५ सम्म र देउराली आधारभूत विद्यालयका १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको बोहोराले बताए ।
‘जन्मोत्सव भोजभतेर गरेर मनाउने चलन छ । तर, मैले निःस्वार्थ भावनाले बालबालिकाहरूको पठन–पाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ’–बोहोराले भने ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङले जन्मदिनको अवसरमा बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान दिएको भन्दै बोहोराको प्रशंसा गरे । तामाङले विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाउन अभिभावक र विद्यालयले चासो दिनुपर्नेमा पनि जोड दिए ।
सोही अवसरमा हिमालय आधारभूत विद्यालयका प्र.अ. कमला बोहोरा, देउराली आधारभूत विद्यालयकी यमुना लुइटेल र सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पाण्डेलगायतले बोहोरालाई जन्मदिनको अवसरमा शुभकामना दिएका थिए ।