विजयपुर । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सेवा लिन बिल काट्न लाइनमा बस्नु नपर्ने भएको छ । लक्ष्मी सनराइज बैङ्कले प्रतिष्ठानलाई टोकन मेसिन प्रदान गरेसँगै लाइन बस्नु नपर्ने भएको हो ।
बुधबार बैङ्कले प्रतिष्ठानलाई दुई थान टोकन मेसिन प्रदान गरेको बैङ्कका धरान शाखा प्रबन्धक वसन्त सेढाईंले जानकारी दिए । उनका अनुसार बैङ्कका संस्थागत बैङ्किङ प्रमुख विवेककुुमार निरौलाले प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. प्रल्हाद कार्कीलाई मेसिन प्रदान गरेका हुन् ।
बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोकन मेसिन प्रदान गरेको हो । बैङ्कका धरान शाखा प्रबन्धक सेढाईंले प्रतिष्ठानमा सेवा लिनका लागि बिल काट्ने ठाउँमा लाइन बस्दा बिरामी वा कुरुवालाई सहजताका लागि मेसिन प्रदान गरेको बताए । उनले भने, ‘प्रतिष्ठानमा सेवा लिनका लागि बिल काट्न अब उभिनु पर्दैन । टोकन लिएर आफ्नो पालोमा जाँदा हुन्छ ।’ उनले प्रतिष्ठानमा उपचारका लागि ठूलो सङ्ख्यामा आउने सेवाग्राहीहरूलाई व्यवस्थित सुविधाको बन्दोबस्त गर्न मेसिन प्रदान गरेको बताए ।
स्वास्थ्य, शिक्षा, वातावरण आदि क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको बैङ्कका २ सय ८४ शाखा, १ सय ५३ वटा शाखारहित बैङ्किङ सेवा, २८ वटा एक्सटेन्सन काउण्टर र ३ सय ४१ वटा ए.टि.एम.मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा दिइरहेको छ ।