विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम्मत् नदेखिएको भन्दै दीर्घकालीन महत्वका निर्णय नगर्न विपक्षीका नाममा आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटको पक्षमा आदेश दिएको हो । सर्वोच्च अदालतको आदेशमा प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने उल्लेख छ ।
‘नेपालको संविधानको धारा १८६ बमोजिम प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने देखिँदैन । विवादित मत दिइएको सन्दर्भमा मत बराबर भएको भन्ने देखिएन’–सर्वोच्चको आदेशमा भनिएको छ । थापाले गत ४ गते प्राप्त गरेको विश्वासको मत संविधानसम्मत मान्न नसकिने सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् जनाएको छ । सर्वोच्चले मुख्यमन्त्री थापाले संविधानसम्मत रूपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको सुनुवाइ टुङ्गो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू, नगराउनू’ भनी आदेश दिइएको हो ।
थापाले विश्वासको मत प्राप्त गरेको भनेर सभाको अध्यक्षले गरेको घोषणा गर्ने कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले ‘दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू नगराउनू’ भनेकाले मुख्यमन्त्री थापाको हैसियत कामचलाउ हुन पुगेको छ । सर्वोच्चले विवादित विषयको छिटोछरितो रूपमा निरूपण गर्नु बाञ्छनीय देखिएकाले पूर्ण सुनुवाइका लागि भदौ १५ गते शुक्रबार पेसी हुने पनि इजलासबाटै तोकेको छ ।
सर्वोच्चले यो विवादलाई अग्राधिकार पनि दिएको छ । मुख्यमन्त्री थापालाई सर्वोच्च अदालतको यो दोस्रो धक्का हो । अघिल्लो पटक गत असार २१ मा थापाले पदासीन सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनी मुख्यमन्त्री भए तापनि सर्वोच्चले उनलाई २२ दिनमै पदमुक्त गरिदिएको थियो ।