दुई दशकदेखि धरानको घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले धरान उपमहानगर प्रमुख हर्कराज राईको निर्देशनमा निष्काशन गरिएको भन्दै मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
साता दिनअघि स्थानीय सरकार प्रमुख हर्कराज राई (साम्पाङ) लाई निर्णय सच्याउन दिइएको ज्ञापनपत्रमा कुनै सुनुवाई नगरेपछि धरानमा संयुक्त ट्रेड युनियन महासंघ संघर्ष समितिले आन्दोलन सुरु गरेको हो ।
मजदुरहरु राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निष्काशन गरेको थियो । मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनिय संघर्ष समितिले आजदेखि आन्दोलन सुरु गरेको हो ।
समितिले एकहप्ता अगाडि नगर प्रमुख साम्पाङलाई निर्णय सच्याउन ज्ञापनपत्र बुझाएको थियो । प्रमुखले चासो नदिएपछि आजदेखि घन्टाघर परिसरमा १ घन्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको छ । आन्दोलनको बेवास्ता गरे ९ गते घन्टाघरमा तालाबन्दी गर्ने, १० गते १ घन्टा यातायात सवारी साधन बन्द गर्ने र थप आन्दोलनको घोषणा गर्दै जाने समितिका संयोजक समशेर बर्देवाले बताए ।
संघर्ष समितिले ‘घण्टाघरका कामदारलाई तुरुन्त पुनर्बहाली गर’, ‘मजदुर मार्न पाउँदैन’, ‘श्रमको सम्मान गर्दै पुनःस्थापित गर’, ‘श्रमशोषण मुर्दावाद’, ‘श्रमिकको श्रमलाई सम्मान गर’ लगायतका नारा लेखिएको ब्यानर विरोधस्वरुप प्रदर्शन गरेको छ ।
नगर प्रमुख साम्पाङले कार्यरत मजदुरलाई निष्काशन गरी आफ्नै नातेदार ज्वाइँ र साडुलाई स्वयम् हस्ताक्षर गरी नियुक्ति दिएको आरोप लागेको छ । यस सम्बन्धमा नगर प्रमुख साम्पाङसँग बुझ्दा उनले धराने सबै आफ्ना आफन्त भएको प्रतिक्रिया दिएका छन् ।