नगर प्रमुख हर्कराज राईले धरानमा अशान्तिमय वातावरण भएकाले सबैलाई संयमित र संवेदनशील हुन आह्वान गरेका छन् ।  उनले आपसी सदभाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपिलसमेत गरेका छन् । 

नगर प्रमुख साम्पाङले समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने उल्लेख गरेका छन् । उनले अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने काम नगर्न वक्तव्य जारी गर्दै अपिल गरेका छन् । 

सामाजिक सञ्जालमा पछिल्लो समय धर्मका विषयमा देखिएको विद्वेषका कारण जातीय द्न्द्व बढ्ने खतरा भएपछि सिंगो धरान यतिबेला चिन्तित छ । धरानका पूर्व नगर प्रमुखहरुले हिजो वक्तव्य जारी गर्दै सद्भाव कायम राख्न अपील गरेका थिए । आज सर्वदलीय बैठक बसी दिउँसो सद्भाव र्याली निकाल्ने तयारी गरिएको थियो । 

सोही सन्दर्भमा नगर प्रमुख साम्पाङले ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य’ रहेको बताएका छन् । 

उनले ‘सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली’ भन्ने भावलाई आत्मसात गर्न आह्वान गरेका छन् । 

वक्तव्य जारी गर्दै नगर प्रमुख साम्पाङले ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनदयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।