धरान । झापाको इलाका प्रहरी कार्यालय झिलभिलेमा कार्यरत इन्स्पेक्टर युवराज कटुवालमाथि स्थानीय तीन युवाले हतियार प्रहार गरेका छन् । 

बिहीबार साँझतिर शिवसताक्षी नगरपालिका ९ स्थित झरना खोला नजिकै स्थानीय तीन जना युवाहरूले बन्चरो प्रहार गरेका हुन् । उनी सामान्य घाइते भई हाल उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आक्रमणमा संलग्न तीनै जना युवालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवम् सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

आक्रमण गर्नुपर्ने कारण खुल्न सकेको छैन । मोटरसाइकलमा सवार रहेका ३२ वर्षीय अरुण तामाङ, सवार ३३ वर्षीय लक्ष्मण टुडू र ३६ वर्षीय अशोक पोखरेललाई पक्राउ गरिएको छ । त्यसमध्ये अशोकले बन्चरोले प्रहार गरेको प्रहरीले जनाएको छ । इन्स्पेक्टर कटुवालको हात र टाउकोमा चोट लागेको छ ।

मे ४ प २७५१ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूले बिना कारण आक्रमण गरेको प्रहरीले जनाएको छ । तीनै जना युवाहरूले मादक पदार्थ सेवन गरेको प्रहरीले जनँएको छ । इन्स्पेक्टर कटुवालले राजमार्गमा तीन जना सवार भएको मोटरसाइकल रोकी सम्झाउने प्रयास गर्दा आक्रमण गरेका थिए । 

घाइते बनेका इन्स्पेक्टर कटुवाल सरुवा भएका कारणले चाँडै नै झिलझिले छाड्ने तयारीमा रहेका थिए ।