हिन्दूवादी धार्मिक संघसंस्थाहरूले धरानमा शनिबार गर्न लागेको कार्यक्रम तत्काल नगर्न सुनसरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सर्वपक्षीय र सर्वदलीय छलफलले अपिल गरेको छ । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको प्रजिअ हुमकला पाण्डेको नेतृत्वमा बसेको छलफलले गोरु काटेको विषयलाई लिएर गर्न लागेको शान्तिपूर्ण र्‍यालीलाई स्थगित गर्नका लागि आपिल गरेको हो ।

छलफलमा सुरक्षा निकायका अधिकारीहरू, सुनसरीस्थित राजनीतिक दलका प्रमुखहरू सहभागी रहेका थिए । धरानमा केही दिनअघि गोरु काटेर खाएको विषयलाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रतिक्रियास्वरूप हिन्दूवादी संघसंस्थाहरूले धरानमा भदौ ९ गते शान्तिपूर्ण र्‍याली निकाल्ने तयारी गरेका थिए । सामाजिक सञ्जालमा अपिल गर्दै र्‍यालीमा सहभागी हुन आग्रह गरिएको थियो । 

सामाजिक सद्भाव खलबलिने निष्कर्षसहित प्रजिअ पाण्डेले धरानमा शान्ति सुव्यवस्था कायम राख्नका लागि कार्यक्रम नगर्न अपिल गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । धरान अहिले डेङ्गुको महामारीले आक्रान्त भइरहेको अवस्थामा यस्ता खालका कार्यक्रमले थप असहज परिस्थिति सिर्जना गर्ने भएकाले कार्यक्रम नगर्न आग्रह गरिएको छ ।

कार्यक्रममा कृष्ण दल सुनसरीका प्रमुख सेनानी अमित लामा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरका प्रमुख एसपी लकेसकुमार तुङ्बाहाङ्फे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निरीक्षक तिलकप्रसाद शर्मा प्रसाईं, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल लगायत सुरक्षा अधिकारी सहभागी थिए । 

त्यस्तै दलका तर्फबाट नेकपा एमाले सुनसरीका सचिव पर्शुराम यादव, नेपाली कांग्रेसका जिल्ला उपसभापति नगेशचन्द्र राई, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, जसपाका जिल्ला अध्यक्ष भगीरथ खत्वे, लोसपा नेपालका अध्यक्ष रामप्रसाद यादव, राप्रपाका जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेत, नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष देउमान लिम्बूलगायत सहभागी थिए । सर्वपक्षीय, सर्वदलीय छलफलले धरानमा हुन सक्ने धार्मिक, साम्प्रदायिक सद्भाव खलबलिन सक्ने भन्दै अपिल गरेको हो ।