धरानका राजनीतिक दलहरुले धरानमा भोलि आयोजना गरिने भनिएको र्‍यालीलगायतका कार्यक्रम स्थगित गर्र्न आह्वान गरेका छन् । 

धरानमा देखापरेको धार्मिक, सांस्कृतकि विवादका विषयलाई सर्वपक्षीय सर्वदलीय वार्ता– संवादको माध्यमद्वारा समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्र्दै धरानका १२ राजनीतिक दलले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी वातावरण सहज बनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । 

परिस्थितिको गम्भिरतालाई मनन् गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सद्भाव खलबलिने सामग्रीहरु पोस्ट, शेयर तथा कमेन्ट नगरिदिनसमेत दलहरुले आग्रह गरेका छन् ।  ‘सम्बन्धित निकायलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दछौं ।’ दलहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘हाम्रो बहुलतायुक्त विषेशतालाई आत्मासाथ गर्दै सबै जाति, धर्म समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुयाउने गतिविधि नगरिदिनु हुन अनुरोध गर्दछौं ।’ भनिएको छ । 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी एकीकृत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमूक्ति पार्र्टी, किरात खम्बुवान सपा र विवेशील साझा पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्धारित कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो । 

‘नेपाल बहुभाषिक, बहुसास्कृतिक, बहुजातीय, बहुधार्मिक बहुलतायुक्त मुलुक हो । हामीबीच एक आपसको भातृत्व, सहिष्णुता, सद्भाव एक अर्काप्रतिको सम्मान भाव हाम्रो विशिष्ट पहिचान हो । विगत केही दिनदेखि धरानमा देखिएका असहज परिस्थितिले हामीबीच रहिआएको सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशंका उत्पन्न भएकाले हामीलाई चिन्तित बनाएको छ ।’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । 

हिन्दूवादी संघसंस्थाहरूले धरानमा भदौ ९ गते भोलि शान्तिपूर्ण र्‍याली निकाल्ने पूर्व तयारी अनुसार प्रचारप्रसार गर्दै आएका छन् ।