बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सेवा लिन बिल काट्न लाइनमा बस्नु नपर्ने भएको छ । लक्ष्मी सनराइज बैङ्कले प्रतिष्ठानलाई टोकन मेसिन प्रदान गरेसँगै लाइन बस्नु नपर्ने भएको हो ।

बुधबार बैंङ्कले प्रतिष्ठानलाई दुई थान टोकन मेसिन प्रदान गरेको बैङ्कका धरान शाखा प्रबन्धक बसन्त सेडाईंले जानकारी दिए । उनका अनुसार बैङ्कका संस्थागत बैंङ्किङ् प्रमुख विवेककुुमार निरौलाले प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. प्रह्लाद कार्कीलाई मेसिन प्रदान गरेका हुन् । 

बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत टोकन मेसिन प्रदान गरेको हो । बैङ्कका धरान शाखा प्रबन्धक वसन्त सेडाईले प्रतिष्ठानमा सेवा लिनका लागि बिल काट्ने ठाउँमा लाइन बस्दा बिरामी वा कुरुवालाई सहजताका लागि मेसिन प्रदान गरेको बताए । 

उनले भने, ‘प्रतिष्ठानमा सेवा लिनका लागि बिल काट्न अब उभिन पर्दैन । टोकन लिएर आफ्नो पालोमा जाँदा हुन्छ ।’ 

शाखा प्रबन्धक वसन्त सेडाईले प्रतिष्ठानमा  उपचारका लागि ठूलो सङ्ख्यामा आउने सेवाग्राहीहरुलाई व्यवस्थित सुविधाको बन्दोबस्त गर्न मेसिन प्रदान गरेको बताए । 

स्वास्थ्य, शिक्षा, वातावरण आदि क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको बैङ्कका २८४ शाखा, १५३ वटा शाखारहित बैंकिङ सेवा, २८ वटा एक्सटेन्सन काउण्टर र ३४१ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ ।