धरानको अन्जुमन इस्लामियाले धरानमा देखिएको असहिष्णु कदमको अन्त्यको कामना गर्दै सामाजिक सद्भाव तथा भाइचारा निर्माण होस् भनी प्राथना गरेको छ ।
धरानका मुस्लिमहरूको मूल संस्था अन्जुमनले धरानको बिग्रदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गरेको छ । शुक्रबार धरान–३ स्थित जामे मस्जिदमा विशेष प्राथना गरिएको महासचिव अफाक अहमदले जानकारी दिए ।
उनले धरानमा देखिएको जातीय तथा धार्मिक असहिष्णु किसिमले सामाजिक सञ्जालमा प्रस्तुत भइरहेकाले त्यसको अन्त्यका लागि प्राथना गरिएको बताए ।
जामे मस्जिदमा करिब दुई हजारको संख्यामा उपस्थित भएर सामूहिक प्राथना गरिएको छ । धरान बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक सहर भएकाले यहाँको सांस्कृतिक विविधतालाई आत्मसात गर्नका लागि आग्रह गरिएको छ । प्रेम र सद्भाव तथा शान्ति कायम गर्नका लागि अन्जुमनले अपिल गरेको छ ।