हिन्दू धर्मका अनुयायीहरुले धर्मनिरपेक्षताको खारेजी र हिन्दूराज्यको माग गर्दै नाराबाजी गरेका छन् । धरानमा निषेधादेश जारी भएपछि इटहरीमा निकालिएको र्यालीमा हिन्दू धर्मका संघसंगठन र धर्मगुरुहरुको नेतृत्वमा भएको र्यालीमा गोवंश तथा स्वधर्म संरक्षणका लागि सद्भाव र्याली निकालिएको छ ।
धार्मिक तथा राष्ट्रिय झण्डाको प्रयोगसँग हिन्दू धर्मको पक्षमा प्लेकार्डसहितको र्याली प्रदर्शन गरिएको छ । र्यालीमा ‘गौमाताको सम्मानमा आऔं सबै मैदानमा’, ‘मरे बलिदान बाँचे स्वभिमान, गौ संरक्षण हाम्रो अभियान’ लगायतका नारा लगाइएको छ ।
हिन्दू धर्मका विभिन्न संघसंगठनले धरानमा आह्वान गरेको शान्ति र्यालीसँगै पहिचानवादीका कार्यक्रमले सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेको छ । तर स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर भने र्याली निकालिएको छ ।
इटहरीबाट निस्केको ¥याली तरहराको पानीपियासम्म पुग्ने बताइएको छ । धरान क्षेत्रमा निषेधादेश जारी भएकाले पानीपियासम्म र्याली आउने बताइएको छ । उनीहरुले स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै शान्ति र्याली आयोजना गरेका बताएका छन् ।
र्यालीले धरान नगर प्रमुख हर्क साम्पाङविरुद्ध नाराबाजीसमेत गरेको देखिएको छ ।
प्रशासनले धरानमा २४ घण्टे निषेधादेश जारी गरेको छ । धरान आउने नाकामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।