विराटनगर । पाँचौं संस्करणको एसबीएससी सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गिङ स्टारको छनोट चरणको अडिसन उर्लाबारी, रङ्गेली, विराटचोक र विराटनगरमा भएको थियो । ‘ आवाज तपाईंको, गौरव राष्ट्रको, देन निजी स्कुलहरूको’ भन्ने मूल नाराका साथ चार ठाउँमा भएको अडिसनबाट १ सय १६ जना छनौट भएको कार्यक्रम संयोजक हिरा थापाले जानकारी दिए ।
चार चरणको अडिसनमा १ सय ६४ जना विद्यार्थीहरूबाट १ सय १६ जना विद्यार्थीहरू अडिसन राउण्डमा छनोट भएका छन् । उर्लाबारीमा ४८ जना विद्यार्थीले भाग लिएको मध्ये २६ जना छनोट भए । रङ्गेली अडिसनमा ३६ जना सहभागीमध्ये २४ जना, विराटचोक २६ जना सहभागीमध्ये १७ जना र विराटनगरमा भएको अडिसनमा ५४ जना सहभागी विद्यार्थीहरूमध्ये ४९ जना विद्यार्थीहरू छनोट भएको कार्यक्रम संयोजक थापाले बताए ।
प्रतियोगिताको सेमिफाइनल आगामी असोज ३ गते विराटनगरमा हुने भएको छ । सेमिफाइनलबाट फाइनलमा १० जना छनोट गर्ने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार सान्त्वनाले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छनोट चरणको निर्णायकहरूमा सुमन श्रेष्ठ, दीपेन थापा, जेबी थुलुङ र दुर्गा पराजुली रहेका छन् ।