विराटनगर । विराटनगर–७ मा रहेको माछापुच्छरे बचत तथा ऋण सहकारी संस्था लि. का चार जना सञ्चालकले पाँच सयभन्दा बढी निक्षेपकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

जिल्ला सहकारी सङ्घ मोरङका सञ्चालक समिति सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय समितिले तयार पारेको छानबिन प्रतिवेदनअनुसार सबैभन्दा बढी हिनामिना सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ । कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९ सय ५६ रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीका सचिव तथा सञ्चालक समिति सदस्य प्रभाकर थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटाला गरेको खुलेको छ ।

थापा नेपाली काङ्ग्रेसको भातृसङ्गठन तरुण दल मोरङका पूर्व सभापति पनि हुन् । यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २ सय ७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा विवेकशील पार्टीका नेता हुन् । उनले स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी पनि दिएका थिए । यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्ताभित्रमा सहकारीको हिसाब छानबिन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । समितिले साउन १४ गते प्रतिवेदन बुझाएको थियो । हिनामिना गरेको देखिएपछि सात दिनभित्रमा हिसाब फरफारक गरी उक्त प्रतिवेदन कार्यान्वयन गर्न प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले निर्देशन दिएको थियो । निर्देशन दिएको एक हप्ता बितिसक्दा पनि घोटाला गर्ने सञ्चालकहरू हिसाब फरफारक नगरेर अहिले फरार भएका छन् ।

घोटाला गर्ने सञ्चालकहरूले सहकारीको नियम, मूल्यमान्यता विपरीत हिनामिना गरेको रकम जग्गामा लगानी गरेको देखिएको छ । उनीहरूले आफन्त र नातागोता व्यक्तिलाई सहकारीको रकम विना धितो कर्जा दिएको पाइएको छ । २ करोड बढी रकम धितो नराखी ऋण दिएको देखिन्छ । चार जना सञ्चालकको नाममा रहेको जग्गा पनि छानबिन समितिले रोक्का राख्न सुझाव दिएको छ । प्रभाकर थापाको सबैभन्दा बढी जग्गा रहेको देखिएको छ । थापाको झापाको धुलाबारी–२ मा १७ कठ्ठा जग्गा देखिएको छ । कित्ता नम्बर ९६ रहेको ४ कठ्ठा १० धुर र ३०७० कित्ता नं. रहेको ४ कठ्ठा १० धुर जग्गा धुलाबारीमा देखिएको छ । यसैगरी थापाकी श्रीमतीको नाममा पनि १०६ र ८१२ कित्ता नंं. को १७ कठ्ठा जग्गा देखिएको छ । सहकारीको निक्षेप जग्गामा लगानी गरेको देखिएको छ ।

व्यवस्थापकको खातामा ५ करोड
व्यवस्थापक अमित कार्कीको नाममा रहेको बैङ्क खातामा सहकारीको पाँच करोड बढी रकम देखिएको छ । सिटिजन इन्टरनेशनल बैङ्कको खाता नं. ००२००२००००९३९ एस. ए. १६ फेब्रुअरी २००९ देखि र एक्सल डेभलपमेन्ट बैङ्क विराटनगर शाखाको खाता नंं. ०१२०११०००४७१४३०००००१ मा ४ अक्टुबर २०१२ देखि सहकारीको करिब ५ करोड ७५ लाख जम्मा गरेको देखियो । जुन रकम शङ्कास्पद र थप छानबिनको घेरामा ल्याउनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७९ मङ्सिर २८ गते भएको लेखा परीक्षण अनुसार १ करोड ४९ लाख ३७ हजार २ सय ९३ रुपैयाँ ऋण लगानी भएकोमध्ये अधिकांश भाखा नाघेका, पुराना, कागजी प्रक्रिया पूरा नगरी दिएको पाइएको छ । ९५ प्रतिशत लगानीमा देखाएको ऋण जोखिममा रहेको अवस्था छ । ऋण लगानी जम्मा २ सय ५ जनामा देखाएकोमध्ये ५ जनाको मात्र धितो जमानीमा ऋण लगानी गरेको देखाएको छ । ऋण लगानीको संयोजकमा अमित कार्की रहेका थिए । कार्कीले २०६९ साउन ५ देखि २०७१ फागुन २९ गतेसम्म ३८ पटक बैठक बसी ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले अब थप कारबाहीको प्रक्रियामा अगाडि बढ्ने बताए । उनले भने, ‘घोटाला गर्ने सञ्चालकको सम्पत्ति रोक्का राखेर तिर्न लगाउने हो । असुल उपरको लागि पहलमा लागिपर्नेछौँ ।’