अन्यायपूर्ण तरिकाले घन्टाघरबाट निष्काशित मजदुरको पुनर्बहालीको माग गर्दै आन्दोलित मजदुरमाथि धरानका नगर प्रहरीले धरपकड गरेका छन् । 

आन्दोलनरत मजदुरहरुको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज घण्टाघरमा ताला लगाउने क्रममा मजदुरमाथि परिचालित नगरप्रहरीले धरपकड गरेको संघर्ष समितिका संयोजक समशेर वर्देवाले जानकारी दिए । 

धरपकडपछि मजदुरहरुले ‘मजदुर मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए । आन्दोलनरत मजदुरहरुले धरपकड नगर्न नगर प्रहरीलाई आग्रह गरेका थिए । 

दुई दशकदेखि धरानको घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले धरान उपमहानगर प्रमुख हर्कराज राई (साम्पाङ) को निर्देशनमा निष्काशन गरिएको भन्दै मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।  


नौ दिनअघि स्थानीय सरकार प्रमुख साम्पाङलाई निर्णय सच्याउन दिइएको ज्ञापन–पत्रमा कुनै सुनुवाई नगरेपछि धरानमा संयुक्त ट्रेड युनियन महासंघ संघर्ष समितिले आन्दोलन सुरु गरेको हो ।

मजदुरहरु राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निष्काशन गरेको थियो । मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनिय संघर्ष समितिले घण्टाघरमा शुक्रबारदेखि आन्दोलन सुरु गरेका थिए ।

नगर प्रमुख साम्पाङले निर्णय नसच्याएपछि र मजदुरको  आन्दोलनलाई चासो नदिएपछि घन्टाघर परिसरमा १ घन्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको थियो । आन्दोलनको बेवास्ता गरे घन्टाघरमा तालाबन्दी गर्ने,  १ घन्टा यातायात सवारी साधन बन्द गर्ने र थप आन्दोलनको घोषणा गर्दै जाने कार्यक्रमअनुसार आज घण्टाघरमा तालाबन्दी गर्न मजदुर पुगेका थिए । 

संघर्ष समितिले ‘घण्टाघरका कामदारलाई तुरुन्त पुनर्बहाली गर’, ‘मजदुर मार्न पाउँदैन’, ‘श्रमको सम्मान गर्दै पुनःस्थापित गर’, ‘श्रमशोषण मुर्दावाद’, ‘श्रमिकको श्रमलाई सम्मान गर’ लगायतका नारा लेखिएको ब्यानर विरोधस्वरुप प्रदर्शन गर्दै आएका छन् ।  

नगर प्रमुख साम्पाङले कार्यरत मजदुरलाई निष्काशन गरी आफ्नै नातेदार ज्वाइँ र साडुलाई स्वयम् हस्ताक्षर गरी नियुक्ति दिएको आरोप लागेको छ । यस सम्बन्धमा नगर प्रमुख साम्पाङसँग बुझ्दा उनले धराने सबै आफ्ना आफन्त भएको प्रतिक्रिया दिने गरेका छन् ।