नगर प्रहरीको धरपकडका बावजुद मजदुरहरुले धरानको घण्टाघरमा तालाबन्दी गरेका छन् ।
दुई दशकदेखि घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले धरान उपमहानगर प्रमुख हर्कराज राई (साम्पाङ) को निर्देशनमा निष्काशन गरिएको भन्दै मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।
चरणबद्ध आन्दोलनअन्तर्गत आज घण्टाघरमा तालाबन्दी गरिएको ट्रेड युनियन महासंघ (जिफन्ट) का धरान नगर अध्यक्ष समशेर वर्देवाले जानकारी दिए ।
नौ दिनअघि स्थानीय सरकार प्रमुख साम्पाङलाई निर्णय सच्याउन दिइएको ज्ञापन–पत्रमा कुनै सुनुवाई नगरेपछि धरानमा संयुक्त ट्रेड युनियन महासंघ संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
मजदुरहरु राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निष्काशन गरेको थियो । मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनिय संघर्ष समितिले घण्टाघरमा शुक्रबारदेखि आन्दोलन सुरु गरेका थिए ।
नगर प्रमुख साम्पाङले निर्णय नसच्याएपछि र मजदुरको आन्दोलनलाई चासो नदिएपछि घन्टाघर परिसरमा १ घन्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको थियो । आन्दोलनको बेवास्ता गरे घन्टाघरमा तालाबन्दी गर्ने यसअघि मजदुरले चेतावनी दिएका थिए । १ घन्टा यातायात सवारी साधन बन्द गर्ने र थप आन्दोलनको घोषणा गर्दै जाने संघर्ष समितिले कार्यक्रम घोषणा गरेको छ ।
मजदुरहरुले ‘घण्टाघरका कामदारलाई तुरुन्त पुनर्बहाली गर’, ‘मजदुर मार्न पाउँदैन’, ‘श्रमको सम्मान गर्दै पुनःस्थापित गर’, ‘श्रमशोषण मुर्दावाद’, ‘श्रमिकको श्रमलाई सम्मान गर’ लगायतका नारा लेखिएको ब्यानर विरोधस्वरुप प्रदर्शन गर्दै आएका छन् ।