अन्यायपूर्ण तरिकाले घन्टाघरबाट निष्काशित  मजदुरको पुनर्बहालीको माग गर्दै आन्दोलित मजदुरलाई धरान नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले वार्तामा बोलाएका छन् ।

मजदुरहरुले आज आन्दोलनस्वरुप घण्टाघरमा तालाबन्दी गरेका थिए । विगत नौ दिनदेखि घण्टाघरमा आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनरत मजदुरहरुको पूर्व निर्धारित कार्यक्रमअनुसार आज घण्टाघरमा ताला लगाउने क्रममा मजदुर माथि परिचालित नगरप्रहरीले धरपकड गरेका थिए ।
धरपकडपछि मजदुरहरुले 'मजदुर मार्न पाइँदैन' भन्दै नाराबाजी गरेका थिए ।

वार्तामा पुनर्बहालीको माग नछाड्ने संयुक्त संघर्ष समितिका संयोजक समशेर वर्देवाले बताए ।
'हाम्रो पहिलो माग नै मजदुरको पुनर्बहाली हुनेछ,' संयोजक वर्देवाले भने, 'मेयर साबले बिदा गरिसकेको कर्मचारी भएकाले उचित सम्मानका साथ बिदा गर्ने कुरा गर्नु भएको छ ।'
संयोजक वर्देवाले २ वर्षको तलब सुविधा प्राप्त गरी बिदा लिन सकिने मजदुरबीच छलफल भएको बताए ।
दुई दशकदेखि धरानको घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले धरान उपमहानगर प्रमुख हर्कराज राईको निर्देशनमा निष्काशन गरिएको भन्दै मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।