घण्टाघरमा ताला लगाउनेलाई कानुन अनुसारको मुद्दा दायर गरी कारबाही गर्ने धरान नगर प्रमुख हर्क साम्पाङले चेतावनी दिएका छन् ।

सामाजिक सन्जाल फेसबुकमा उनले लेखेका छन् - 'ताला लाउनेलाई कानुन अनुसारको मुद्दा दायर गरी कारवाही गरिनेछ !'

धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) र घन्टाघरका निष्काशित कर्मचारीको पुनर्बहालीको माग गर्दै आन्दोलनरत मजदुरबीच वार्ता निष्कर्षविहीन भएपछि रातको साढे ८ बजेको समयमा उनले फेसबुकमार्फत तालाबन्दी गर्नेलाई कारबाही गर्ने बताएका हुन् ।

आज अपराह्न आन्दोलनरत मजदुर संघसंगठनका प्रतिनिधिसँग बसेको छलफलमा नगरप्रमुख साम्पाङले निष्काशितमध्ये एकजना मात्र मजदुरलाई पुनर्बहाली गर्ने अडान लिएका थिए ।

हर्क साम्पाङको अडानपछि मजदुरसँगको वार्ता अन्योलमा परेको थियो ।

मजदुरहरुको चरणबद्ध आन्दोलनपछि धरान प्रमुख हर्कराज राई (साम्पाङ) ले बोलाएको वार्तामा ‘एकजना कर्मचारीमात्रै पुनर्बहाली गर्छु घण्टाघरको ताला खोल्दिनुस्’ भनेपछि मजदुरहरुले दुवै कर्मचारीलाई पुनर्बहाली गर्न माग गरेका थिए । आफ्नो अडानमा मजदुरहरुले समर्थन नजनाएपछि नगर प्रमुख साम्पाङले रातपरेपछि फेसबुकबाटै कानुनी कारबाहीको लागि मुद्दा लगाउने उल्लेख गरेका छन् ।

मजदुर संघसंगठनका प्रतिनिधि र नगर प्रमुख साम्पाङबीचको वार्ता ठोस निष्कर्षमा नपुगेपछि ‘कर्मचारी पुनर्बहाली गरेपछिमात्रै ताला खोल्ने’ जानकारी गराउँदै मजदुरहरु वार्ताबाट उठेका थिए ।

संयुक्त संघर्ष समितिका संयोजक समशेर वर्देवाका अनुसार नगर प्रमुखले एकजना मात्रै पुनर्बहाली गर्ने भनेपछि आफूहरुले दुबै जनालाई गर्नुपर्छ भन्ने कुरा राखेको र पुनर्बहालीपछि मात्रै ताला खोल्ने मजदुरहरुले जानकारी गराएका छन् ।

दुई दशकदेखि घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले धरान उपमहानगर प्रमुख साम्पाङको निर्देशनमा निष्काशन गरिएको भन्दै मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । चरणबद्ध आन्दोलनअन्तर्गत घण्टाघरमा तालाबन्दी गरिएको थियो । 

नौ दिनअघि स्थानीय सरकार प्रमुख साम्पाङलाई निर्णय सच्याउन दिइएको ज्ञापन–पत्रमा कुनै सुनुवाई नगरेपछि धरानमा संयुक्त ट्रेड युनियन महासंघ संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

मजदुरहरु राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निष्काशन गरेको थियो । मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनिय संघर्ष समितिले घण्टाघरमा शुक्रबारदेखि आन्दोलन सुरु गरेका थिए । मजदुरहरुले ‘घण्टाघरका कामदारलाई तुरुन्त पुनर्बहाली गर’, ‘मजदुर मार्न पाउँदैन’, ‘श्रमको सम्मान गर्दै पुनःस्थापित गर’, ‘श्रमशोषण मुर्दावाद’, ‘श्रमिकको श्रमलाई सम्मान गर’ लगायतका नारा लेखिएको ब्यानर विरोधस्वरुप प्रदर्शन गर्दै आएका छन् । 

Screenshot_20230827-215159_Facebook