सुनसरी । सामुदायिक विद्यालय सुधार अभियानमा लागेका कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले शिक्षा क्षेत्र सुधारमा आफूले कम्प्रमाइज नगर्ने बताएका छन् । कोसी गाउँपालिका वडा नम्बर ६ स्थित श्रीपुरका विद्यार्थीहरूको समस्या बुझ्दै अध्यक्ष अन्सारीले आइतबार सो कुरा बताएका हुन् । आफू निर्वाचित भएदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथै आवश्यकताअनुसार शिक्षकको व्यवस्था गर्दै पूर्वाधार विकासको लागि पहल गर्दै आएको अध्यक्ष अन्सारी बताउँछन् । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन आफूले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको उनले बताए ।
कोसी गाउँपालिकाले अभिभावक र सरोकारवालासँग छलफल गर्दै शिक्षकलाई सक्रिय बनाउने, विद्यार्थी नभएका विद्यालयलाई गाभ्ने, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने, शिक्षकको सरुवा र पदस्थापन गर्ने, सामुदायिक विद्यालयमै अङ्ग्रेजी माध्यमको पढाइ सुरु गर्ने र जनप्रतिनिधिले नै घरदैलो गरेर भर्ना अभियान प्रभावकारी बनाउने काम गरिरहेको अध्यक्ष अन्सारीको कथन छ । संविधानले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएको उनको दाबी छ । कोसी गाउँपालिकाले गाउँपालिका क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइ सुरु गर्ने तयारीसमेत गरेको छ । कम्तीमा आधारभूत तहसम्मको शिक्षा अङ्ग्रेजी माध्यमबाटै गराउन सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने तयारी गरिएको हो ।
यसैबीच विद्यालय टाढा हुँदा अध्ययन गर्न समस्या भएको, सार्वजनिक बसमा यात्रा गर्दा जोखिम बढेको भन्दै आन्दोलित कोसी जनता मावि हरिपुरमा अध्ययनरत विद्यार्थीको माग सम्बोधन गर्न कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी सकारात्मक देखिएका छन् । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू कटिबद्ध भएर लागेको अवस्थामा विद्यार्थीहरूले आफ्ना समस्या र मागबारे गाउँपालिका सकारात्मक देखिएको छ । कोसी गाउँपालिका वडानम्बर ८ भण्टाबारीबाट कोसी गाउँपालिका वडानम्बर ७ स्थित हरिपुरमा अवस्थित कोसी जनता माविमा साधन अभावमा सधैँ सार्वजनिक बसमा यात्रा गर्दा विद्यार्थीहरूलाई समस्या देखिएको हुँदा उक्त समस्या समाधान गर्न तत्काल वडानम्बर ८ स्थित श्री आधारभूत विद्यालयलाई सप्तकोसी माविमा गाभिएको छ ।