विजयपुर । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक ठीक अवस्थामा नहिँडिरहेको बताएका छन् ।

आइतबार धरानमा नेपाली काङ्ग्रेस क्षेत्रीय समितिले सञ्चालन गरेको ‘ग्रीन एन्ड क्लिन धरान’ एक महिने अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक सही दिशामा नहिँडिरहेको बताएका हुन् । उनले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक कुनै कुरा पनि हाम्रो देशमा अहिले ठीक अवस्थाबाट हिँडिरहेको छैन ।’

डा. कोइरालाले जातीय र धार्मिक सद्भावमा बसिरहेका नेपालीलार्ई खल्बल्याउने काम भइरहेको बताए । उनले भने, ‘धार्मिक जातीय सद्भाव राख्न सकिएन भने देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा जान्छ ।’ उनले धरान पहिले ग्रीन नै थियो, विस्तारै विस्तारै हामीले नै समाप्त गरेको बताए ।

नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले आइतबार धरान–१९ मा एक हजार ५ सय कागतीका बिरुवा वितरण गरेको बताए । गत साउन ६ गतेबाट सुरु  गरिएको अभियानमा २१ हजार ५ वटा बिरुवा वितरण गरेको सभापति तामाङले बताए ।