कार्यपालिकामा निर्णय गरी मजदुरलाई पुनर्बहाली गर्ने मेयर हर्क साम्पाङको आश्वासनपछि मजदुरहरुले दुई दिनदेखि घण्टाघरमा लगाइएको ताला खोलेका छन् ।
आजै ट्रेड युनियन महासङ्घ सयुक्त संघर्ष समितिका पदाधिकारी र नगरप्रमुख साम्पाङबीच भएको वार्तापछि मजदुरहरुले ताला खोलेका हुन् । निष्काशित कर्मचारीहरुलाई पुनर्बहाली गर्ने विषय नगरको आगामी कार्यपालिका बैठकमा राखिने छ ।
बैठकबाट कर्मचारीको पुनर्बहाली हुने संघर्ष समितिका सयोजक समशेर वर्देवाले विश्वास व्यक्त गरे । कार्यपालिका बैठकमा उमेर हदका कारण निकालिएका मजदुरहरुलाई थप एक वर्षका लागि कार्यकाल थपिदिने वा चित्त बुझ्दो अनुदानस्वरुप सहयोग गर्ने प्रस्ताव कार्यपालिक बैठकमा पेश हुनेछ ।
आज मजदुरहरुसँग भएको दोस्रो चरणको वार्तापछि कार्यपालिकामा प्रस्ताव राख्न र बहस, पैरवी गर्न वडा नम्बर २ का वडाध्यक्षलाई नगर प्रमुख साम्पाङले अनुरोध गरेका छन् ।
संघर्ष समितिले दश दिन अगाडि नगर प्रमुख साम्पाङलाई निर्णय सच्याउन ज्ञापनपत्र बुझाएको थियो । प्रमुखले चासो नदिएपछि घन्टाघर परिसरमा १ घन्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको थियो । आन्दोलनको बेवास्तापछि मजदुरहरुले घन्टाघरमा तालाबन्दी गरेका थिए ।
संघर्ष समितिले ‘घण्टाघरका कामदारलाई तुरुन्त पुनर्बहाली गर’, ‘मजदुर मार्न पाउँदैन’, ‘श्रमको सम्मान गर्दै पुनःस्थापित गर’, ‘श्रमशोषण मुर्दावाद’, ‘श्रमिकको श्रमलाई सम्मान गर’ लगायतका नारा लेखिएको ब्यानर विरोधस्वरुप प्रदर्शन गर्दै आएका थिए ।
सहमति कार्यान्वयनमा विश्वास व्यक्त गर्दै मजदुरहरुले अन्यथा पुनः चरणबद्ध आन्दोलनको घोषणा गर्ने समेत बताएका छन् । तालाबन्दी खोल्ने क्रममा ट्रेड युनियन संघर्ष समितिले श्रमिकहरु नरबहादुर लिम्बू (राजा मामा) र प्रकाश राईलाई सम्मान समेत गरेका थिए ।