धरानको अनिर्णित एयरपोर्ट जग्गा विवाद पुनः बल्झिएको छ ।
प्रस्तावित एयरपोर्ट रनवे आसपासको १४ कट्ठा जग्गा प्लटिङ हुन थालेपछि स्थानीय जग्गादाताले जग्गा रोक्का गरिदिन धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) को ध्यानाकर्षण गराएका छन् । नगर प्रमुख साम्पाङले यस अघि नै एयरपोर्टका नाममा जग्गा दिन बाध्य बनाउने र त्यसमा संलग्नलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने सामाजिक सन्जालमार्फत उर्दी गरेका थिए ।
आज स्थानीय जग्गादातासँग नगरपालिकामा छलफल गर्दै नगर प्रमुख साम्पाङले पीडितलाई न्याय दिलाउने आश्वासन दिएका छन् । स्थानीयलाई जानकारी नै नदिई व्यक्ती (कुन्दन समशेर जबरा) को नाममा पास गराइएको जग्गा प्लटिङ सुरु भएको स्थानीयले गुनासो गरेका छन् । गुनासोपछि वडा कार्यालयमार्फत जग्गा रोक्का गर्न पत्राचार गर्ने र प्रक्रिया अघि बढाउने नगर प्रमुख साम्पाङले आश्वासन दिएका छन् ।
'एयरपोर्ट नबने जग्गा फिर्ता हुनुपर्छ, म पीडितको पक्षमा छु ।' नगर प्रमुख साम्पाङले छलफलमा भने ।
प्रस्तावित धावन मार्गदेखि बाहिरको १४ कट्ठा जग्गा प्लटिङ भइरहेको स्थानीय उद्धव राईले बताए । बीस वर्षअघि ५० हजार प्रतिकट्ठा चलनचल्तीमा रहेको जग्गा एयरपोर्ट बन्ने र स्थानीयलाई नै फाइदा हुने प्रलोभन देखाउँदै यति इनकर्पोरेटले २८ हजार रुपैयाँदेखि ३२ हजार रुपैयाँ प्रतिकट्ठा जग्गा खरिद गरेको थियो ।
२०६० साल चैत्र १० गते तत्कालीन धरान नगर प्रमुख कुमारबहादुर कार्कीको कार्यकालमा निर्णय गर्दा धरान १७ को जग्गालाई दुई श्रेणीमा विभाजन गर्ने निर्णय गरेको थियो । धरान १७ साविक २ ख को हवाइ मैदानको लागि 'क' र 'ख' श्रेणीमा राखेर मूल्य निर्धारण गर्ने लिखित निर्णय गरिएको थियो । 'क' श्रेणीको जग्गालाई प्रतिकठ्ठा २८ हजार र 'ख' श्रेणीको जग्गालाई ३२ हजार प्रती कठ्ठामा मूल्य निर्धारण गर्ने निर्णय गरिएको थियो ।
प्रस्ताव नम्बर २ मा सो जग्गा खरिद गर्ने र हवाइ मैदान नबनेको अवस्थामा सम्बन्धित जग्गा धनीलाई साविककै मूल्यमा फिर्ता गर्ने निर्णय गरिएको थियो ।
निर्णय अनुसार 'क' श्रेणीमा पर्ने साविक घोपा २ 'ख' का किता नम्बरहरु ३९, ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२ र ६३ छन् । त्यसैगरी ९ 'ख' श्रेणीमा पर्ने कित्ता नम्बरहरु २७, २८, ३०, ३१, ३३, ३६, ३७, ३८ रहेका छन् ।
२०६० साल चैत्र १० गतेका दिन धरान नगरपालिका कार्यालयको लर्निङ सेन्टरमा नगर प्रमुख कुमारबहादुर कार्कीको संयोजकत्वमा यति इन्कर्पोरेट प्रालिका प्रतिनिधि अशोक अग्रवाल तथा अन्य व्यक्तिको उपस्थितिमा सम्बन्धित जग्गा धनीहरुबीच प्रालिले हवाई मैदान निर्माण गर्ने प्रयोजनका लागि जग्गा बिक्री गर्ने सम्बन्धमा छलफल भएको थियो ।
छलफलमा धरानका तत्कालीन नगर प्रमुख कुमारबहादुर कार्की, नगर उपप्रमुख मीनकुमार सुब्बा, पूर्व नगरप्रमुख मनोजकुमार मेयाङ्गबो, यति इन्कर्पोरेट प्रालिका प्रतिनिधि अशोक अग्रवाल, धरान १७ का स्थानीयहरु धनबहादुर विष्ट, नारायण केसी, मनीकुमार राई, बुद्धिराज राई, बालकुमार राई, डम्बरकुमार श्रेष्ठ, डम्बरे चुहान, हेम नारायण श्रेष्ठ, नरेश श्रेष्ठ, विजय राई, भोजराज कटुवाल, सूर्यनारायण श्रेष्ठ, इन्द्रप्रसाद खनाल, चन्द्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रेणुका शाक्य, कुमार श्रेष्ठ, गंगा श्रेष्ठ, उद्धव राई रहेका थिए ।
तत्कालीन समयमा धरान १७ स्थित डाँडा घोपामा १८ सिटे जहाजका लागि एयरपोर्ट बन्ने भनिएको थियो र, स्थानीयबाट ७ बिघा ४ कट्ठा जग्गा सस्तो मूल्यमा लिइएको थियो ।