विजयपुर । धरान उपमहानगरपालिकाले नगर प्रहरीमा ६ जनाको विज्ञापन गरे पनि अनियमित तरिकाले ९ जना नियुक्त गरेको पाइएको छ ।
उपमहानगपालिकाले असार २९ गते विज्ञापन नं. ०१÷०७९÷८० मा ६ जना नगर प्रहरीको विज्ञापन गरेको थियो । तर, नगरले साउन ३२ गते नगर प्रहरीमा ९ जना नियुक्त गरेको छ । नगरले सोही विज्ञापन अन्तर्गत एक जना बारूणयन्त्रसहित नौ जना नियुक्त गरेको हो । नगरप्रमुख राईको एकल निर्णयअनुसार ९ जना नियुक्त गरिएको हो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले विज्ञापन भएपछि रिक्त हुन आएकाले थप गरेको जानकारी दिए । उनले भने, ‘छनोट प्रक्रियामा ३ जना रिटायर भएको र प्रक्रिया लामो हुने भएकाले नगर प्रमुखस्तरीय निर्णयबाट ९ जना छनोट गर्ने निर्णय गरेका हौँ ।’ तर, लोक सेवा आयोगको प्रक्रियालाई हेर्ने हो भने विज्ञापन गरेपछि कुनै पद रिक्त हुन गएमा अर्को सूचना प्रकाशित गरी थप गर्ने व्यवस्था रहेको छ ।
नगरले भने कुनै सूचना नगरी सिधै थप गरेको हो । लोकसेवाको प्रक्रियाका विषयको जिज्ञासामा प्रमुख प्रशासकीय भट्टराईले भने, ‘करारको दरबन्दी हो, सूचना निस्किएपछि खाली भएकाले छनोटअगाडि नै विज्ञापन गरेका थियौँ ।’ उनले तीन जना थप गर्नु नीतिगत नै भएको दाबी गरे । तर, धरान उपमहानगरपालिकाको करारमा कर्मचारी व्यवस्था गर्ने कार्यविधि २०७५ मा विज्ञापनपछि कोटा रिक्त हुन आएका विषयमा मौन रहेको छ ।
उपमहानगरको करारमा नगर प्रहरी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७५ मा पनि विज्ञापन गरेपछि रिक्त हुन आएको हकमा व्यवस्था गरेको छैन । अर्थात् दुवै ऐन विज्ञापन भएपछि रिक्त हुन आएको पदको विषयमा मौन रहेको देखिन्छ । प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय कर्मचारी छनोट समिति रहने व्यवस्था छ । उक्त समितिले अन्तरवार्तालगायत प्रक्रिया पूरा गर्दछ । यो विषयमा लोकसेवा आयोगका एक अधिकारीले नगरलाई स्थानीय सरकार भन्ने गरेकाले कार्यपालिका, व्यवस्थापिका नगरकै भएको बताउँदै भने, ‘कार्यपालिका, व्यवस्थापिका सबै एकै ठाउँमा भएकाले स्थानीय तहमा ‘चेक एण्ड ब्यालेन्स’ छैन ।’ नगरप्रमुख राईले यसअघि पनि विना प्रक्रिया कर्मचारी नियुक्त गर्दै आएका छन् ।