वराहक्षेत्र । लगातारको वर्षाका कारण वराहक्षेत्र नगरपालिकाको वडा नं. १ का स्थानीयवासी बाढी पहिरोको त्रासमा छन् । अविरल वर्षापछि चतरा–वराहक्षेत्र सडक–खण्डको धनसार खोलामा पहिरो गएर यातायात पूर्ण अवरुद्ध बनेको छ ।
त्यस्तै सोही वडाको बगुवा खोला गाउँ पस्न लागेपछि स्थानीय त्रसित भएका छन् । धनसार खोलामा गएको पहिरोले विगत ५ दिनदेखि बन्द चतरा–वराहक्षेत्र सडक अझै खुल्न सकेको छैन । खोलामा बिहीबार दिउँसोदेखि गएको पहिरोका कारण यातायात तथा पैदल दुवै यातायात पूर्णरूपमा बन्द भएका छन् ।
बाटो नखुल्दा वराहक्षेत्र मन्दिरक्षेत्रका बासिन्दालाई चतरा बजार आउजाउ गर्न समस्या भएको छ । ‘पहिरोले सडक अवरुद्ध हुँदा मन्दिर क्षेत्रबाट बाहिर गएका स्थानीय र दर्शन गर्न आएका तीर्थालुहरू आउन–जान पाएका छैनन् भने रासन र तरकारी सकिँदै गएकोले समस्या बढेको छ’–स्थानीय वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले भने ।
पहिरोको निरीक्षण गर्न पुगेका वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की र वडा नं.१ का अध्यक्ष किसन थापाले अनुगमन गरी तत्काल बाटो खुलाउन पहल गरिएको जानकारी दिए ।
सडक विभागको इटहरीस्थित हेभी इक्विपमेन्ट डिभिजनबाट तैनाथ गरिएको डोजर मेसिनले पहिरो हटाउने काम थालिएको भए पनि लगातार पहिरो झरिरहेको हुँदा बाटो खोल्न नसकिएको पहिरो गएको स्थानमा खटिएका वडासदस्य कुमार भट्टराईले बताए ।
सो स्थानमा शुक्रबार र आइतबार फेरि ठूलो पहिरो गएको छ । शुक्रबार बाटो सफा गरिरहँदा पहाडमाथिबाट ठूलो ढुङ्गा र माटोको ढिस्को झरेपछि सडक विभागका डोजर चालक शिवनाथ मण्डलले भागेर ज्यान बचाएका थिए । डोजरले नसकिएपछि सडक विभागबाट स्काभेटर ल्याउन लागिएको सदस्य भट्टराईले जानकारी दिए ।
यता करिब १५ दिनअगाडि वडाको भण्डारीटार–चावाचा लिङ्क रोडमा गएको पहिरो हटाई सडक खोलिए पनि आइतबार बिहान अर्को पहिरो गएको छ । पहिरो गएको साबिक स्थानबाट केही दूरीमा गएको अर्को पहिरो भने सोमबार बिहान हटाएपछि सडक खोलिएको छ । चावाचामा करिब १५ जना डेङ्गु सङ्क्रमित रहेकोले बिरामीको सहजताको लागि सडकको रानीखोलासम्म बाटो खोलिएको भट्टराईले जानकारी दिए । यता लगातारको वर्षाले सोही वडाको बगुवाखोला आसपासका बस्तीमा पानी पस्ने सम्भावना बढेको छ । खोलाको जलस्तर बढेर बगुवाको पश्चिमतर्फ रहेको गाउँ डुबानमा पर्ने भएपछि खोलामा पानीको बाटो परिवर्तन गर्न च्यानल निर्माण थालिएको वडाध्यक्ष किसन थापाले बताएका छन् ।
चतरा–धरान जोड्ने मुख्य सडकमा पर्ने उक्त बगुवा खोलामा पुल बनाउन ठेक्का लागेको भए पनि पुल बन्न सकेको छैन । एक वर्षअगाडि कात्तिक महिनामा पुलको ठेक्का लागे पनि ठेकेदार सूर्य एन्ड सन्स प्रा.लि.ले काम सुरु गरेको छैन । लाइफ लाइनको रूपमा रहेको धरान–चतरा सडकमा रहेका खोलामा पक्की पुल नबन्दा स्थानीयले सास्ती पाउने गरेका छन् । चतरा–धरान सडक नै वराहक्षेत्र नगरपालिकाका वडा नं. १ र २ का बासिन्दालाई सहरसँग जोड्ने छोटो दूरीको एक मात्र लाइफ लाइन बाटो हो ।
अन्य सुख्खा मौसममा पनि बाटोमा रहेका खहरे खोलामा बाढी आएर बगाउने हो कि भन्ने त्रासमा बस्नुपरेको स्थानीय ईश्वर थापाले गुनासो गरे । एक वर्षअगाडि मात्र चतराघाटकी एक किशोरीको खोलाले बगाएर ज्यान गएको थियो । यस्ता दुःखद् घटनाहरू पटक–पटक भए पनि सरोकारवालाको ध्यान जान नसकेको थापाको भनाइ छ ।
सडकको बाघखोलामा ६० मिटर लम्बाइ र ११ मिटर चौडाइ र बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको बनिने पक्की पुलको नक्सा तयार भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट अहिलेसम्म नक्सा पास नभएपछि काम सुरु नभएको ठेकेदार सूर्य एन्ड सन्सका प्रमुख निमेष श्रेष्ठले बताए ।