सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापन नेतृत्वको नयाँ जिम्मेवारीमा आएका प्रहरी निरीक्षक सुभाष केसीले आज धरानमा स्थानीयसँग परामर्श लिएका छन् । उनले जिल्लाको ट्राफिक व्यवस्थापनका चुनौतीबारे राय, सुझाव संकलन गरेका छन् । 

स्थानीय सरोकारवाला सञ्चारकर्मीसँग छलफल गरेका ट्राफिक प्रहरी निरीक्षक केसीले प्रहरीको प्रमुख उद्देश्य जरिमाना नभएर दुर्घटना न्यूनीकरण भएको बताएका छन् । उनले यस विषयमा संवेदनशील भएर लाग्ने बताए । 

माध्यमिक शिक्षा धरानमै आर्जन गरेका उनी यसक्षेत्रलाई भौगोलिक रुपमा राम्रोसँग बुझेका र यहाँका ट्राफिकको समस्या समेत बुझेकाले उनले आफ्नो कार्यकालमा रचनात्मक र सिर्जनात्मक काम गर्ने अपेक्षा स्थानीयले गरेका छन् । 

हालै जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुनसरी धरानको प्रमुख भएर आएका प्रहरी निरीक्षक केसीले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने, जनचेतनामूलक अभियानलाई प्राथमिकता दिने र ट्राफिक प्रहरीप्रतिको नागरिकको नकारात्मक दृष्टिकोणलाई परिवर्तन गराउन सिर्र्जनात्मक काम गर्ने बताए । 

छलफलमा उपस्थित सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको सुझाव संकलन गर्दै प्रहरी निरीक्षक केसीले जिल्लामा लागू भएका मादक पदार्थ सेवन, लागू पदार्थ सेवन गरी सवारी चलाउने गतिविधिलाई निरुत्साहित गर्ने, नियमित चेकजाँच गर्ने, सिटी सफारीको व्यवस्थापन गर्ने, सहरका हाइवे, मुख्य चोक, गल्लीमा सिसिटीभी जडान गर्न समन्वयात्मक भूमिका खेल्ने, वन–वेलाई थप प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यक स्थानमा थप गर्ने बताए । 

Subhash Kc Traffic Police Officer Dharan

उनले निजी तथा सरकारी विद्यालयका सवारी साधनको रुट र विद्यार्थी सवारीको अवस्थालाई निरीक्षण गर्ने, चालक, सहचालकसँग छलफल गर्ने, कलेज तथा विद्यालयका विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम गर्नेलगायत ट्राफिक नियम उल्लघंनका घटनामा शून्यसहनशीलता अपनाउने गरी काम गर्ने बताए । 

प्रहरी निरीक्षक केसीले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको भवन निर्माणका  विषयमा स्थानीयलाई सहयोग र पहल गरिदिन पनि आग्रह गरेका छन् । 

प्रहरी निरीक्षक केसीले थिति नमिलेका विषयमा क्रमशः सुधार गर्दै जाने र रचनात्मक प्रयोगलाई क्रमशः प्रयत्न गर्ने बताए । ‘हाम्रो लक्ष्य ट्राफिक व्यवस्थापन सरल, सहज र सुदृढ गराउनु हो, र प्रमुख उद्देश्य जरिमाना होइन, दुर्घटना न्यूनीकरण हो ।’ ट्राफिक प्रहरी निरीक्षक केसीले भने ।