सुनसरी । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित छन्, सुनसरीको कोसी गाउँपालिका–८ कोसी ब्यारेज बस्ने चन्दर मुखिया ।
दाउरा सङ्कलनसँगै जाल लिएर माछा मार्न घरबाट एकाबिहानै सप्तकोसी नदीछेउछाउमा आइपुग्नु उनको दिनचर्याजस्तै भइसकेको छ । गत असार २९ गते शुक्रबारका दिन सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी ब्यारेजमा बस र ट्रक आपसमा ठोक्किँदै ट्रक सप्तकोसी नदीमा खस्यो । पहाडी भेगमा निरन्तर पानी पर्दा सप्तकोसी नदीमा जलस्तर बढिरहेको बेला ट्रकसहित चालक नदीमा खस्दा चालकको सकुशल उद्धार गर्न सकिन्छ भन्ने कमैले सोचेका थिए । ट्रक सप्तकोसी नदीमा खसेको देखेर स्थानीय मुकदर्शक भइरहेको बेला साइकल लिएर चन्दर मुखिया घटनास्थल आइपुगे । सप्तकोसी नदीमा पानीको सतह बढिरहेको परवाह नगरी उनले ट्रक चालकलाई उद्धार गरे ।
यस्तै भदौ ३ गते सप्तकोसीमा नुहाउने क्रममा डुबेर एकजना भारतीय नागरिकको मृत्यु भयो । बिहानको समयमा सप्तकोसी नदीमा बोलबम जानको लागि जल भरेर नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएपछि उनको शव भेटिएन । घटनास्थल पुगेको गोताखोर टोलीले उनै मुखियाकै सहयोगमा हराएको शव भेट्टायो । यी केही उल्लेखित प्रतिनिधि घटना मात्रै हुन् । सप्तकोसी नदीमा दुर्घटनामा परी डुब्न लागेकादेखि आत्महत्या गर्न सप्तकोसी नदीमा हाम्फाल्ने व्यक्तिको उद्धार गर्नमा समेत उनले सहयोग गर्दै आएका छन् ।
सानैदेखि सप्तकोसी नदीमै पौडी खेलेर हुर्केको हुँदा डुब्न लागेका व्यक्तिको उद्धार गर्न आफूलाई सहज लागेको मुखिया बताउँछन् । आफ्नै ज्यान लिन खोज्ने वा दुर्घटनामा पर्ने व्यक्तिको उद्धार गर्दा आफूलाई सन्तुष्टि प्राप्त हुने गरेको बताउँदै उनले भने, ‘मैले सप्तकोसीमा डुब्न लागेका कयौंको ज्यान बचाएको छु, तर अस्ति एकजना भाइको ज्यान बचाउन नसक्दा दुःख लाग्यो ।’ उनलाई आफ्नै आँखाअगाडि कसैको डुबेर मृत्यु भएको देख्दा भने ज्यादै दुःख लाग्छ । सप्तकोसी नदीमा जल भरेर नुहाउने क्रममा बेपत्ता भएका भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर–३ बस्ने १९ वर्षका अमरकुमार मेहतालाई बचाउने प्रयास गरे पनि नसक्दा दुःख लागेको उनको भनाइ छ । सप्तकोसी नदीमा डुब्न लागेका व्यक्तिको उद्धार गर्नु उनका लागि सामान्य कुराजस्तै लागेको स्थानीय बताउँछन् । ‘कुनै कारणवश सप्तकोसीमा डुब्न लागेका व्यक्तिको उद्धार गर्नु उनको लागि अब कुनै नौलो कुरा होइन’–स्थानीय पशुपति मण्डलले भने ।
सप्तकोसी नदी क्षेत्रमा बस्ने चन्दर मुखियाजस्ता व्यक्तिको पहिचान गरी उनीहरूलाई आवश्यकताअनुसार तालिम दिन सकिएको अवस्थामा उनीहरूबाट थप फाइदा लिन सकिने सम्भावना रहेको अर्का स्थानीय उमेश यादवले बताए । ‘पटक–पटक आफ्नो ज्यानको परवाह नगरी उनले कुनै विशेष तालिम नलिए पनि डुब्न लागेका व्यक्तिको पौडी खेलेर उद्धार गर्न सफल भएका छन्’ यादवले भने, ‘यदि चन्दरजस्ता युवाहरूको क्षमता पहिचान गरी उनीहरूलाई प्राविधिक ज्ञान दिन सकेको अवस्थामा थप फाइदा लिन सकिने सम्भावना छ, यसतर्फ ध्यान जानुपर्छ ।’ आफ्नो ज्यान जोखिममा राखेर सप्तकोसी नदीमा डुब्न लागेका व्यक्तिको उद्धारमा मुखियाको भूमिका प्रशंसनीय देखिएको सशस्त्र प्रहरीको बिओपी भण्टाबारीका डिएसपी भवराज कटवाल बताउँछन् ।
मान्छेको उद्धार गर्ने मुखिया सम्मानित
कोसी ब्यारेज भई यात्रा गर्ने क्रममा दुर्घटनामा परी सप्तकोसी नदीमा डुब्न लागेका व्यक्तिलाई पटक–पटक आफ्नो ज्यानको बाजी राखी बहादुरीपूर्ण तवरबाट उद्धार गर्न सफल भएको भन्दै मङ्गलबार कोसी गाउँपालिकाले चन्दर मुखियालाई सम्मान गरेको छ ।
मानवताका निम्ति उनले खेलेको भूमिकाको उच्च प्रशंसासहित उनलाई सम्मान–पत्रसहित खादा ओढाएर कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले सम्मान गरेका हुन् । मानवताको लागि मुखियाले आफ्नो ज्यानको बाजी राखेर डुब्न लागेका व्यक्तिको सप्तकोसी नदीबाट उद्धार गर्न सफल भएको हुँदा उनको मनोबल उच्च बनाइराख्न सम्मान गरिएको अध्यक्ष अन्सारी बताउँछन् । उनले भविष्यमा यस्ता युवाहरूको पहिचान गरी क्षमता विकासदेखि अन्य आवश्यकताअनुसारका योजना ल्याइने प्रतिबद्धता व्यक्त गरे ।